‘भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण नगर्न आग्रह’

Technology Khabar २५ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए।

सञ्चालनमा आएका नयाँ अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकलाई आज काउन्सिलमा बोलाएर उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र पत्रकार आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही थालिएको बताए।

“समाचारमाध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन्। गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन्। त्यस्ता माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ”, उनले भने, “नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्छ।”

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिँदै अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका– २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिएका थिए।

अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूल प्रवाहमा ल्याउने अवसर दिएको बताए। उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औँल्याएका थिए।

विभिन्न ४५ ओटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया