आजको नेपाल र नेदरल्यान्ड बिचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने

Technology Khabar २२ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ।

यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ।

खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन्।

ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवस्मरणीय क्षण प्रदान गर्नेछ।

उनका अनुसार कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भइ नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन् । उनले नेपाली खेल प्रेमीहरुलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरेका छन्। निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिने आयोजकले जनाएको छ।

नेपालको टि–२० विश्वकप २०२४ अन्तर्गतको यस पहिलो खेल आज राती ९ः१५ बजे देखि सुरु हुनेछ । नेपालले एक दशकपछि टि–२० विश्वकपमा भाग लिँदैछ।

प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया