फेसबुक टिप्पणीले शिक्षकलाई तह लगायो

  • Technology Khabar | २१ जेष्ठ २०८१, सोमबार
फेसबुक टिप्पणीले शिक्षकलाई तह लगायो

काठमाडौं ।

कार्यालयमा ढिलो उपस्थित हुने प्रवृत्तिमा सुधार ल्याउन कर्मचारीको हाजिर कट्टा र स्पष्टीकरण सोधेर सजाय दिनु पर्छ भन्ने छैन। सामान्य जुक्ति अपनाएर पनि कार्यालयमा ढिला आउने कर्मचारीमा सुधार ल्याउन सकिन्छ। यस्तै सामान्य विधि अपनाएर धनुषाको हरिहरपुरस्थित जनता माध्यमिक विद्यालयका शिक्षकमा सुधार आएको छ।

विद्यालयमा जहिल्यै ढिलो आउने शिक्षकलाई लक्षित गरी स्थानीय मनोज महतोले आफ्नो फेसबुक पेजमा ‘ढिलो आउने शिक्षकलाई फूलको गुच्छाले स्वागत गरिने’ स्टाटस लेखेको भोलिपल्टदेखि सबै शिक्षक तथा कर्मचारी समयमै उपस्थित हुन थालेका छन्।

ढिलो आउने कर्मचारी तथा शिक्षकलाई निर्धारित समयमा उपस्थित भएर पठनपाठन गराउन पटक पटक मौखिक अनुरोध गरे पनि सुधार नआएपछि सामाजिक सञ्जाल फेसबुकमा त्यस्तो स्टाटस लेखेको मनोजले बताए।

विगत कैयौँ वर्षदेखि यहाँ कार्यरत अधिकांश शिक्षक तथा कर्मचारी ढिलो आउने र चाँडै फर्किने गरेको थियो। त्यसमा सुधार ल्याउन विद्यालयका प्रधानाध्यापक अनुपकुमार झालाई पटक पटक भनेको उनले सुनाए।

विद्यालयका प्रधानाध्यापक झाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी समयमै उपस्थित हुने गरेको दाबी गरे। उनले भने, “समयमै उपस्थित हुन शिक्षकलाई कडाइ गरिएको छ। कहिलेकाहीँ बाटो तथा सवारीसाधनका कारण कुनै शिक्षकलाई आउन ढिलो भएको हुन सक्छ, त्यसैलाई तिलको पहाड बनाउनु हुँदैन्।” गोरखापत्रबाट

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार