Technology Khabar १८ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
सरकारले नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक (एमडी) को नियुक्ति बाटो खोलेको छ।
यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्रालिको प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधासम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गरेसँगै कम्पनीमा नयाँ एमडी नियुक्त गर्ने बाटो खुला भएको हो।
यसले हाल भ्रष्ट्राचार मुद्दामा थुनामा रहेका अघिल्ला एमडी सुनिल पौडेलको स्थानमा नयाँ एमडी नियुक्ती गर्न सरकारलाई बाटो खोलेको छ। पौडेलले राष्ट्रिय भुक्तानी प्रणालीका उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनलाई २३ करोड २७ लाख रुपैयाँ जरिवाना र नौ वर्ष कैद सजाय तोकेको छ । योसँगै रिक्त हुन पुगेको नेपाल टेलिकमको एमडी पदमा नयाँ नियुक्तिका लागि मन्त्रालयले निर्देशिका संशोधन गर्नुपरेको जनाएको छ।
पौडेलपछि हाल कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रुपमा संगीता पहाडी अर्याललाई जिम्मेबारी दिईएको छ।
तर सरकारले भने नयाँ एमडी नियुक्त गरेर कम्पनीलाई नयाँ दिशा दिन चाहेको बताईएको छ।
यस बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्षम र टेलिकमलाई अहिलेको संक्रामक अवस्थाबाट मुक्त गराउन सक्ने नेतृत्व खोजिरहेको स्रोतको भनाई छ।
उक्त निर्देशिका सार्वजनिक नभएपनि मन्त्रालय स्रोतले भने नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको बताएको छ। हालको कार्यबिधिमा यस्तो उमेर अधिकतम ५६ वर्ष रहेको छ।
यसैगरी १०औं तह म्यानेजर पदमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्ने प्रावधान हटाईएको* बताईएको छ।
यस बाहेक शैक्षिक योग्यतामा सिभिल इन्जिनियर र मेकानिकल इन्जिनियर थप गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
शैक्षिक योग्यतामा संसोधन गरेकै आधारमा नयाँ व्यक्तिलाई ल्याउन खोजिएको आशंका गर्न सकिने मन्त्रालय स्रोतको दाबी छ। अहिले टेलिकम हाँक्ने कम्पनी भित्रकै सक्षम नेतृत्व कोही नदेखिएको हुँदा बाहिरबाटै ल्याउने प्रयास भईरहेको बताईएको छ।
*सच्याईएको।
प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार