अनलाइनबाटै नागरिकका सुझाव लिईँदै

  • Technology Khabar | १७ जेष्ठ २०८१, बिहीबार
अनलाइनबाटै नागरिकका सुझाव लिईँदै

काठमाडौं ।

इलामको रोङ गाउँपालिकाले नागरिकका आवश्यकता अनुसार बजेट विनियोजन गरी काम गर्नका लागि नागरिकका सुझाव अनलाइन पोर्टलमार्फत लिन थालेको छ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा आफ्ना नागरिकले गाउँपालिकामा के कस्तो अपेक्षा राखेका छन् भन्ने जनभावना गाउँपालिकाले समेट्ने गरी अनलाइन पोर्टलमार्फत सुझाव लिन थालेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले जानकारी दिए।

अध्यक्ष स्याङ्बोले भने, “गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रम र नीतिनियम कस्तो भए जनहितकारी बन्छ भनेर जनअपेक्षा सङ्कलन गरी जनप्रतिनिधि बिच छलफल गरी काम गर्न थालेका हौँ।”

यसरी काम गर्दा स्थानीय सरकार सधैँ नागरिकप्रति उत्तरदायी भएको आभास दिन सकिने अपेक्षा गाउँपालिकाले लिएको छ।

अनलाइन पोर्टलमा गाउँपालिकाले सञ्चालन गर्नुपर्ने विकास निर्माण, लागु गर्ने नीति नियममा नागरिकले निर्धक्क सुझाव राख्न सक्ने र नागरिककै इच्छा अनुसार सुझावकर्ताको गोपनीयता कायम रहने प्रबन्ध मिलाएको छ।

नागरिकले राखेको हरेक सवाललाई विषयगत समितिमा छलफल गरिने र औचित्य पुष्टि भएमा गाउँपालिकाको कार्यक्रममा समावेश गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल खत्रीले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार