Technology Khabar १६ जेष्ठ २०८१, बुधबार
काठमाडौं ।
सामाजिक संजालमा पोखरा विमानस्थल निर्माणमा सरकारले लिएको ऋणको बारेमा भ्रामक जानकारी लेखेको भन्दै पत्रकार गजेन्द्र बुढाथोकीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले माफी माग्न भनेका छन्।
चिनियाँ राजदूत सोङ्गले कुटनीतिक मर्यादा भन्दा बाहिर गएर पत्रकारलाई माफी माग्न चेतावनी दिएको भन्दै सामाजिक संजाल एक्स तातेको छ।
टक्सार म्यागाजिनका संपादक तथा बरिष्ठ पत्रकार बुढाथोकीले महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनको अंश भन्दै पोखरा विमानस्थल निर्माणको लागि नेपाल सरकारले चिनियाँ बैंकबाट लिएको ऋण रकम र त्यसको ब्याज उल्लेख भएको डकुमेन्टको स्क्रिनसट आफ्नो पोस्टमा राखेका थिए।
सोही विषयमा चिनियाँ राजदूतले औपचारिकरुपमा माफी माग्न बुढाथोकीलाई चेतावनी दिएका हुन्।
बुढाथोकीले आफूले सरकारी प्रमाणित डकुमेन्टनै भेटिसकेको भन्दै उक्त डकुमेन्ट मध्येको एक स्क्रिनसट जानकारी सार्वजनिक गरेका थिए।

सोही विषयलाई लिएर राजदूतले सिधै पत्रकार बुढाथोकीसँग सामाजिक संजालमा जुहारी खेलेका हुन्।
राजदूतले जवाफी पोस्टमा लेखेका छन् (अनुवादित)- “मैले देखेको सबैभन्दा खराब झूट। यो सार्वजनिक जानकारी हो, तर तपाइँ यसको बारेमा झूट बोल्न हिम्मत गर्नुहुन्छ।”
राजदूत सोङ्गको जवाफमा पत्रकार बुढाथोकीले प्रमाणसहित प्रकाशित गर्ने बताएका छन्।
यसपछि फेरी राजदूतले “यदि तपाइँसँग कागजात भए प्रकाशित गर्नुस्” भनेर चेतावनी दिएका देखिन्छ। उनले पहिले झूट फैलाएको र त्यसपछि प्रमाण खोज्न लागेको भन्दै बुढाथोकी प्रति आक्रोश व्यक्त गरेका छन्।
यसपछिनै चिनियाँ राजदूतले पत्रकार बुढाथोकीलाई औपचारिकरुपमा माफी माग्न भनेका हुन्।

उता बुढाथोकीले उक्त विमानस्थलका लागि लिईएको ऋणको ब्याज, सेवा शुल्क र शुल्क सहित, कुल खर्च लगभग ५ प्रतिशत हुने अनुमान गरिएको भन्दै लेखेका छन, “मिडिया प्रतिनिधिको हैसियतमा तथ्यलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ। म कूटनीतिज्ञ वा नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, त्यसैले राजदूतबाट धम्की असहनीय छ।”
यस विषयमा सामाजिक संजालमा दुबै पक्षमा समर्थन र विरोध देखिएका छन भने अधिकांशले यसमा चिनियाँ राजदूतको भनाई कुटनीतिक मर्यादा विपरित भएको बताएका छन्।
अन्य प्रयोगकर्ताहरुले भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत गरेका छन्।
प्रकाशित: १६ जेष्ठ २०८१, बुधबार