यसकारण भयो गुगलका सह-संस्थापक सर्गेई ब्रिनको सम्बन्धविच्छेद, इलन मस्कको नाम जोडियो

Technology Khabar १६ जेष्ठ २०८१, बुधबार

काठमाडौं ।

विश्वका धनी व्यक्ति मध्ये एक र टेस्लाका सीईओ इलन मस्क समय समयमा समाचारमा रहिरहन्छन्। न्युयोर्क टाइम्सको पछिल्लो रिपोर्टपछि उनको नाम फेरि चर्चामा छ। यस पटक उनी आफ्ना साथी र गुगलका सह-संस्थापक सर्गेई ब्रिनको सम्बन्धविच्छेदसँगको कथित सम्पर्कलाई लिएर चर्चामा छन्।

न्युयोर्क टाइम्सको रिपोर्टले गुगलका सह-संस्थापक सर्गेई ब्रिनकी पूर्वपत्नी निकोल शानाहानबीचको सम्बन्धविच्छेदको कारण टेस्लाका सीईओ इलन मस्कसँगको अफेयर्स रहेको खुलासा गरेको छ। रिपोर्टले दावी गरेको छ कि इलन मस्क र निकोल शानाहानको २०२१ मा केहि समयको लागि अफेयर चलेको थियो, जुन अन्ततः शानाहान र सर्गेई ब्रिनको सम्बन्ध ब्रेकअपको कारण बन्यो।

ब्रिन र शानाहान सम्बन्ध ५ वर्ष मात्र टिक्यो

निकोल शानाहान एक वकिल हुन्। उनी अमेरिकी चुनावमा पनि भाग लिँदै छिन् र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरले उनलाई उपराष्ट्रपतिको उम्मेदवारको रूपमा छानेका छन्। शानाहान र गुगलका सह-संस्थापकले सन् २०१८ मा विवाह गरेका थिए। उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र ५ वर्षको सम्बन्धपछि गत वर्ष सम्बन्ध विच्छेद गरेर उनीहरु अलग भएका थिए।

इलन मस्क र निकोल शानाहानको सम्बन्धको खबर बाहिर आएको यो पहिलो पटक भने होइन। केही समयअघि वासिङ्टन पोस्टले पनि एक रिपोर्टमा यस्तो दाबी गरेको थियो। तर, इलन मस्क र निकोल शानाहान दुवैले आपसी सम्बन्धको खबरलाई अस्वीकार गर्दै आएका छन् ।

इलन मस्कको भाइले दिएको पार्टीबाट विवाद

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मस्कका भाइ किम्बल मस्कले डिसेम्बर २०२१ मा मियामीमा एउटा पार्टी राखेका थिए। इलन मस्क र निकोल शानाहानले त्यहाँ एक आपसमा भेटेका थिए। रिपोर्टले दावी गरेको छ कि मस्क र निकोल शानाहानले पार्टीमा सँगै केटामाइन सेवन गरेका थिए। दुवै केही समय सँगसँगै बेपत्ता पनि भए।

पछि, निकोल शानाहानले सर्गेई ब्रिनलाई इलन मस्कसँगको शारीरिक सम्बन्धको बारेमा बताइन्, जुन सम्बन्धविच्छेदको कारण बन्यो।

पार्टी पछि तुरुन्तै सम्बन्धविच्छेद

निकोल शानाहान र सर्गेई ब्रिन विवादित पार्टीको लगत्तै अलग भएका थिए। न्युयोर्क टाइम्सका अनुसार पार्टीको दुई हप्तापछि दुवै छुट्टै बस्न थालेका थिए। त्यसपछि उनीहरूले सन् २०२२ मा सम्बन्धविच्छेदका लागि निवेदन दिए, जुन गत वर्ष अन्तिम भयो।

निकोल शानाहानले सम्बन्धविच्छेदमा गुगलका सह-संस्थापकबाट करिब १ अर्ब डलर पाएकी थिइन्।

प्रकाशित: १६ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया