Technology Khabar ११ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा हालै दोषी ठहर भएका तत्कालीन सिनियर डिभिजनल ईञ्जिनियर नवीनकुमार पोखरेलले आत्महत्या गरेका छन्।
भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले हिजो आत्महत्या गरेका उनका सहकर्मी तथा आफन्तले जानकारी दिए।
उनले श्रीमतीलाई सम्बोधन गरेर आत्महत्या गरेको नोट लेखेको बताईएको छ। उनका आफन्तले हिजै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको जानकारी दिए।
उनीसँगै अभियोग लागेका तर सफाई पाएका एक अर्का अधिकारीले अचानक उक्त घट्ना घटेकोमा दुख मनाउ गरे। “पुनरावेदन गर्न सक्ने अवस्था हुँदाहुँदै उनले धैर्य गर्न नसकेको देखिन्छ” उनले भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृतक पोखरेलसहित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अन्यलाई समेत भ्रष्टाचार आरोपसहित २०८० वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्कालिन समयमा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा खटिएका थिए।
निलम्बनमा परेको समयमा पोखरेल वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीईको रुपमा कार्यरत थिए।
पावर सिस्टम इन सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस एण्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्यांक (Power System in Security Printing Press and Pressurized Fuel Storage Tank) को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो।
विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको फैलसा सुनाएको थियो।
विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जेठ ८ गते फैसला गर्दै पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ विगो भराउने फैसला गरेको थियो। उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको थियो।
मृतक पोखरेल, रोहितमान प्रधान र भुवन महर्जनलाई पनि भ्रष्टाचारी ठहर गरिएको थियो। अदालतले मृतक पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनेको छ।
सम्बन्धित समाचार-
विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको मुद्दामा २ वर्ष कैद र २५ करोड जरिवाना, पाँच जनाले पाए सफाई
प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार