सामाजिक सञ्जाललगायतबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल

  • Technology Khabar | १० जेष्ठ २०८१, बिहीबार
सामाजिक सञ्जाललगायतबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल

काठमाडौं ।

विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ।

बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरण गर्न भ्रमपूर्ण विज्ञापन गरिएको अनुगमनका क्रममा पाइएको जनाउँदै त्यसो नगर्न आह्वान गरेको हो ।

ती विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख भएको नपाइएको बताउँदै त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको बोर्डका प्रवक्ता निशानराज गौतमले राससलाई जानकारी दिए।

उनका अनुसार बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन) ऐन, २०७६ को दफा १५ (ख) मा उल्लेख गरिएको छ।

बोर्डले विज्ञापन (नियमन गर्ने नियमावली, २०७७ को दफा (५)मा भएको व्यवस्थाका साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्टरूपमा उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण भएका कुनै पनि विज्ञापन तत्काल रोकी अनुमति लिएर मात्र प्रसारण गर्न/गराउन अनुरोध गरेको प्रवक्ता गौतमले बताए।

अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। रासस

प्रकाशित: १० जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार