मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन

Technology Khabar ८ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी उत्पादन गर्ने, कृषि उत्पादन वृद्धि गर्ने र गाउँमा रोजगारी सिर्जना गर्ने अभियानका साथ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरेको छ। प्रदेशका छओटै जिल्लाका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्न दुई पक्षीय सम्झौता गरिएको छ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले यसअघि स्वीकृति प्रदान गरेको थियो । सम्झौता भएका पालिकामध्ये पाँच वटा कृषि, फलफूल, तरकारीसम्बन्धी, तीन वटा उत्पादन रोजगारी, दुई वटा पर्यटन र एउटा सेवा प्रवाहका काम सञ्चालन हुने आयोजना रहेका छन् ।

सो सम्झौता अनुसार कार्यक्रम सञ्चालनका लागि १८ करोड ५० लाख बजेट परिचालन हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नीराजन घिमिरेले जानकारी दिए। उनका अनुसार लागत सहभागिताका आधारमा १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले लगानी गर्ने छन् । कार्यक्रमकका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत रकम बेहोर्नुपर्ने गरी सम्झौता गरिएको हो ।

सचिव घिमिरे भने, “प्रदेशको आर्थिक विकासलाई अगाडि बढाउने, कृषि उत्पादन बढाउने, पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने, तीन हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको छ ।”

मुख्यमन्त्री कार्यालयका उपसचिव पुनाराम पौडेल र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबिच दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षरका साथै सम्झौतापत्र आदानप्रदान गरिएको छ । सन्धिखर्क नगरपालिका अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सम्झौता भएका योजना कार्यान्वया गर्ने बताए। उनले भने, “सम्झौताको मूल उद्देश्यलाई केन्द्रमा राखेर कार्यान्वयनमा जाने छौँ, जनताको जीवनस्तर उठाउनका लागि नवप्रवर्तन कार्यक्रमलाई केन्द्रित गरेका छौँ ।”

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा दाङ जिल्लाको राप्ती गाउँपालिका छनोट भएको छ । राप्ती गाउँपालिकामा बेसार उत्पादन तथा प्रशोधन उद्योग स्थापना, सञ्चालनका लागि सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले जानकारी दिए।

पाल्पाको रिब्दीकोटमा अकबरे खुर्सानी, बेसार र सुन्तलाको बजारीकरणमा खर्च गरिने छ भने तिनाउ गाउँपालिकामा होमस्टे प्रवर्धन तथा उद्यमशीलता विकासमा खर्च गरिने छ।

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा फलफूल तथा तरकारी खेती प्रवर्धन, रेसुङ्गा नगरपालिकाको रेसुङ्गा क्षेत्रमा साहसिक पर्यटनका लागि जिपलाइन तथा स्काई साइक्लिङ निर्माण गर्ने, कालीगण्डकी गाउँपालिकामा सुन्तला जातका फलफूल तथा तरकारी खेती उत्पादन, प्रशोधन तथा बजारीकरणमा काम गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसैगरी मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सामुदायिक विद्यालयमा आधारभूत शिक्षाको गुणस्तर बढाउन ई शिक्षा तथा डिजिटल शिक्षा सञ्चालन गर्ने, बर्दियाको बाँसगढी नगरपालिकामा जैविक कृषि प्रवर्धन गर्ने, रोल्पाको त्रिवेणी गाउँपालिकामा कृषि परियोजनामार्फत युवा रोजगारी बढाउने कार्यक्रम रहेको छ। गोरखापत्रबाट

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया