Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
अमेरिकी डिभाइस निर्माता एप्पलले भारतमा आफ्नो उत्पादन बढाउने तयारी गरेको छ। कम्पनीले आगामी तीन–चार वर्षमा देशमा कुल आईफोन उत्पादनको २५ प्रतिशत उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि चिनियाँ बिक्रेताहरुबाट सामग्री लिनुको सट्टा स्थानीय बिक्रेताहरुको सञ्जाल निर्माण गरिरहेको छ।
कम्पनीको योजनाको जानकारी भएको स्रोतलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टमा भनिएको छ कि देशमा एप्पलको उत्पादनको ठूलो हिस्सा यसको कन्ट्र्याक्ट निर्माता फक्सकन र टाटा समूहको कम्पनी टाटा इलेक्ट्रोनिक्ससँग हुनेछ। भारत कम्पनीका लागि महत्वपूर्ण बजार हो।
गत वर्षको अन्त्यसम्ममा, एप्पलको कुल आईफोन उत्पादनको १४ प्रतिशत भारतमा भएको थियो। स्वदेशमै बिक्रीसँगै यी आइफोन निकासी पनि भइरहेका छन्। सन् २०२७ वा २०२८ सम्ममा उत्पादनलाई २५ प्रतिशतमा पुर्याउने एप्पलको लक्ष्य छ।
देशमा उत्पादित अधिकांश आईफोनहरू ताइवानको फक्सकनले उत्पादन गर्छन्। गत आर्थिक वर्षको अन्त्यसम्ममा भारतमा करिब १४ अर्ब डलर मूल्यका आईफोनहरू बनेका थिए। गत वर्ष अक्टोबरमा, टाटा इलेक्ट्रोनिक्सले अर्को ताइवानको कन्ट्र्याक्ट निर्माता विस्ट्रोनको उत्पादन कारखाना खरिद गरेको थियो।
एप्पलको आईफोन १५ प्रो म्याक्स यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ। यसले एप्पलका अन्य आईफोन र दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी सामसङका स्मार्टफोनलाई बिक्रीमा पछाडि पारेको छ।
बजार अनुसन्धान फर्म काउन्टरपोइन्टको तथ्याङ्क अनुसार दोस्रो सबैभन्दा बढी बिक्रि हुने स्मार्टफोन आईफोन १५ हो । यो पछि आईफोन १५ प्रो र आईफोन १४ छ।
एप्पलको स्मार्टफोनबाट हुने कुल राजस्वमा आईफोन प्रो मोडलको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ।
प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार