गोफण्डमीबाट संकलित रकम बारेमा डियर वाकका रुद्रराज पाण्डे र महावीर पुन बिच सामाजिक सञ्जालमा जुहारी

Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ।

नेपालको सूचना प्रविधि क्षेत्रका दुई हस्तीहरुबीच फेरी संकलन गरिएको रकमको बारेमा जुहारी चलेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र डियरवाक तथा हाम्रोपात्रोका लगानीकर्ता डा. रुद्रराज पाण्डेबीच सामाजिक संजालमा गोफण्डमीबाट संकलन गरिएको रकमको बारेमा फेरी जुहारी शुरु भएको हो।

यसअघि पनि दुईजनाले एक आपसलाई सामाजिक संजालमा आरोप प्रत्यारोप लगाएका थिए।

हालभने, अमेरिकामा संकलन गरेको रकम लामो समयदेखि नदिएको आरोप खेप्दै आएका डा. पाण्डेले महावीर र उनका समर्थकहरुलाई “मट्याङ्ग्रा” भन्दै आफूलाई ट्रल गरेको आरोपसहित रकम दिएको जानकारी दिएका छन्।

उनले एक्समा डियरवाक फाउण्डेसन (Deerwalk Foundation) राष्ट्रिय अविस्कार केन्द्रका लागि संकलन गरेको रकम बुझाउने बाटो अन्तत खुलेको मंगलबार एक्समा पोस्ट गरेर बताएका थिए।

सो पोस्टमा डा. पाण्डेले लामो समयदेखि जनचासोको विषय रहेको राष्ट्रिय आविस्कार केन्द्रका निमित्त अमेरीकाको गोफण्डमीबाट डियरवाक फाउन्डेसनद्वारा संकलन गरिएको भनिएको रकम २१ हजार ४०३ अमेरिकी डलर केन्द्रलाई हस्तान्तरण गरेको उल्लेख गरेका छन्।

उनले सो रकम खनिजतेलबाट चल्ने सवारी साधनलाई विद्युतिय सवारी साधनमा रुपान्तरण गर्ने अनुसन्धान कार्यका लागि केन्द्रलाई हस्तान्तरण गर्ने सम्झौता आफ्नै फाउन्डेसनको कार्यालयमा गरेको जानकारी दिएका छन्।

उक्त सम्झौता राष्ट्रिय आविस्कार केन्द्र अवस्थित वडा किर्तिपुर वडा कार्यालयको सिफारिस लिएर समाज कल्याण परिसदमा पेस गरे लगत्तै सम्बन्धित बैंकलाइ रोक्का रकम फुकुवा गर्न निर्देशन दिने बताएका छन्।

डियरवाक फाउन्डेसनको तर्फबाट आफूसहित फाउन्डेसनका अध्यक्ष सुरेन्द्र अधिकारी, डियरवाक इन्स्टीच्यूट अफ टेक्नोलोजीका क्याम्पस चिफ तथा डियरवाक फाउन्डेसनका डाइरेक्टर हितेस कार्की, डियरवाकका एडमिन अफिसर हरिराम खड्का, डियरवाक फाउन्डेसनका डाइरेक्टर यज्ञनिधि लम्सालले उक्त सम्झौता हस्ताक्षर कार्यमा उपस्थित रहेको जानकारी दिएका छन्।

यस्तै आविस्कार केन्द्रका तर्फबाट जनरल म्यानेजर सन्जय झा, फाइनान्स अफिसर राजेन्द्र पराजुली र डाइरेक्टर तथा काठमाण्डौ युनिभर्सिटीका भुपु डिन डा. डम्बर नेपालीको उपस्थितमा डा. डम्बरले सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ।

यसका साथै उनले आफ्नो पोस्टमा भनेका छन् “महाबीरका मट्यांग्राहरुले पढुन्। उनिहरूलाई यति कागज बनाउन ५ वर्ष लाग्यो।महावीरले मलाइ “ट्रल” गरे। “रुद्रले पैसा खायो” भन्दै हिडे।”

यस्तै आफूलाई सामाजिक संजालमा सो विषयमा अनावश्यक गाली गरेको समेत दुखेसो गरेका छन्।

“…विषयबस्तु नै नबुझी सामाजिक संजालमा तथ्यहिन प्रचारवाजी गर्दै, गाली गलौजमा उत्रेर, ब्यक्तिगत चरित्र हत्या गर्न उद्देलित तमाम महानुभावहरुलाई सुसूचित गर्नपनि यो पोष्ट गर्न उचित ठानेको हुँ।…”

उता सोही पोस्टको जवाफ दिँदै महावीरले डा. पाण्डेलाई थप आरोप लगाएका छन्। डा. पुनले उक्त उठाएको रकमनै पारदर्शी नभएको भन्दै त्यसमा कसरी र कति रकम उठाईयो र कसरी हस्तान्तरण गरियो भन्ने बारेमा कुरा लुकाएको डा. पाण्डेमाथि गंभिर आरोप लगाए।

महावीरले डा. पाण्डेलाई टुप्पाबाट पलाएको भन्दै धेरै घमण्ड नगर्न समेत चेतावनी दिएका छन्।

“जो चोर उसैको ठूलो स्वर” नगरे हुन्छ रुद्र भाईले। कति रकम उठेको हो, कति सटहि दरमा दियौ, कति कमिसन काट्यौ भन्ने कुराको पोल खोलिदियो भने तिम्रो अरु बेइजत हुन्छ। किन रोइ रहेकाछौ? मैले कोरोनाको महामारीमा सामानहरु बनाउन पैसा नपुगेर माग्दा किन दिएनौ? टुप्पा बाट पलाएका हौ तिमी। धेरै घमण्ड नगर रुद्र भाइ।” महावीरले डा. पाण्डेको एक्सको पोस्टमा आज लेखेका छन्।

यसअघि पनि डा. पाण्डेले महावीर पुनको नेतृत्वमा भएको एक धर्ना कार्यक्रमको बारेमा चप्पल पडकाएर हिँडदैमा आविश्कार नहुने भन्दै कटाक्ष गरेका थिए।

सो समयमा पनि दुबैजना बिच जुहारी चलेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

‘आईसीटी डे’ कै दिन आईसीटी क्षेत्रमा आबद्ध रुद्रराज पाण्डे र महावीर पुन बिच सामाजिक सञ्जालमा जुहारी

पछिल्लो समय, डा. पुनले आफ्नो जीवनीको पुस्तक देशभर बिक्री गरेर आएको रकम थप अध्ययन अनुसन्धानमा लगाउने बताएका छन्। उनले नेपालमा स्टार्टअप कानून बनाउनुपर्छ भनेर लबिङ्ग समेत गर्दै आईरहेका छन्।

हेर्नुस् सम्बन्धित समाचार-

अनुसन्धान तथा नवप्रवर्तन विद्येयकमा महावीर पुनको १७ बुँदे सुझाव

उता पाण्डेले भने आफ्नो कम्पनीको सामान छुटाउन सहयोग नगरेको भन्दै केहि समयअघि नेपाल दूरसञ्चार प्राधिकरण र त्यहाँका कर्मचारीहरु माथिनै गंभिर आरोप लगाएका थिए।

हेर्नुस् सम्बन्धित समाचार-

हाम्रो पात्रोले ‘अवैधरुप’मा भित्र्याउन लागेको ट्रयाकिङ डिभाइस भन्सारमा अलपत्र, प्राधिकरणमा अझै बुझाएन कागजपत्र

प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया