
काठमाडौं ।
होण्डाको चर्चित स्कुटर एक्टिभा इलेक्ट्रिक भर्सनमा आउने भएको छ। होण्डाले आफ्नो एक्टिभालाई ईभीमा बजारमा ल्याउने कोशिस गरिरहेको छ।
यद्यपि यस स्कुटरको लन्च मितिको सम्बन्धमा आधिकारिक जानकारी उपलब्ध छैन, तर इलेक्ट्रिक एक्टिभा बजारमा आउने निश्चित जस्तै भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
२०२५ मा आउने
ड्राइभस्पार्कले होण्डा एक्टिभा इलेक्ट्रिक भर्सन २०२५ मा लन्च गरिने स्रोतलाई उल्लेख गर्दै रिपोर्ट गरेको छ। नयाँ एक्टिभा पेट्रोल भर्सनभन्दा उत्कृष्ट हुने दाबी गरिएको छ।
नयाँ इलेक्ट्रिक एक्टिभालाई कम्पनीले करिब १ लाख २ हजारदेखि १ लाख २३ हजार भारुबीचको मूल्यमा लन्च गर्ने सम्भावना छ। कम्पनीले एक्टिभालाई अपडेटेड डिजाइनका साथ बजेटमैत्री इलेक्ट्रिक स्कुटरको रुपमा बजारमा ल्याउन खोजिरहेको छ।
ब्याट्री र फिचर्स
नयाँ इलेक्ट्रिक स्कुटरमा ३.७८ किलोवाट लिथियम–आयन ब्याट्री दिइनेछ। फास्ट चार्ज सपोर्ट गर्ने स्कुटरले सिंगल चार्जमा १४० देखि १६० किलोमिटर रेञ्ज प्रदान गर्ने विश्वास गरिएको छ।
यसमा १२ इन्चको अलोय ह्वील दिइनेछ। यसका टप स्पीड ६५ किलोमिटर आसपास हुनेछ। स्कुटरमा डिजिटल डिस्प्ले, डिजिटल स्पीडोमिटर र ब्याट्री रेञ्ज पाउन सकिन्छ। साथै स्कुटरमा ब्लूटूथ कनेक्टिभिटी, फोन चार्जिङका लागि यूएसबी पोर्ट र म्यूजिक कन्ट्रोल सिस्टम हुनेछ।
एक्टिभा इलेक्ट्रिक स्कुटर ई प्लेटफर्ममा आधारित हुनेछ। यसको उपयोग विभिन्न ब्याट्री आर्किटेक्चर र इन्स्टोलेसनका साथ कयौं आगामी इलेक्ट्रिक मोडलका लागि गरिनेछ। जापानी दुई पांग्रे निर्माताले यस अघि नै फिक्स्ड ब्याट्री, मोटर, कन्ट्रोलर, चार्जर सहित ईभी प्रविधिका लागि पेटेन्ट दर्ता गरिसकेको छ।
कम्पनीको पेटेन्ट अनुसार नयाँ होण्डा इलेक्ट्रिक स्कुटरमा फ्लोरबोर्डको मुनी एक स्टेबल ब्याट्री र पछाडि एक हब मोटर हुनेछ। एक्टिभा इलेक्ट्रिक स्कुटरका साथ होण्डा मोटरसाइकिल एण्ड स्कुटर इन्डिया एक अर्को नयाँ ईभी पेस गर्नेछ।
यो नयाँ ईभी स्कुटर रिप्लेसेबल ब्याट्रीका साथ आउने सम्भावना छ। दुई पंग्रो निर्माताले भारतमा आफ्नो ६ हजार टचप्वाइन्टमा ब्याट्री एक्सचेञ्ज केन्द्र स्थापित गर्ने योजना खुलाएको छ।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार