काठमाडौं ।
हामीले वर्षौंदेखि फोल्डेबल आईफोनहरूको बारेमा चर्चा सुन्दै आएका छौं। मिनी–ट्याब्लेटमा रूपान्तरण हुने एप्पल फोनको आईडिया निकै आशावादी र निर्विवाद रूपमा राम्रो देखिन्छ। तर यो वास्तविकतामा कहिले रूपान्तरण हुन्छ भन्ने बारेमा अनुमान मात्र गर्न सकिने छ।
एप्पलको फोल्डेबल डिभाइसहरूको लागि सामसङले डिस्प्ले आपूर्ति गर्ने भनेर सामसङ र एप्पल बीच सम्झौता भएको हालैको लीक जानकारीहरुले देखाएका छन।
यद्यपि यो सम्झौताले केवल फोल्डेबल आईफोनको लागि डिस्प्ले कभर गर्दछ वा हाइब्रिड डिभाइससहित दुबैको लागि डिस्प्ले कभर गर्दछ भन्ने बारेमा भने अझै पनि स्पष्टता नभएको उल्लेख छ।
सामसङ डिस्प्लेले यसअघि देखि नै आईफोन र म्याकबुकहरूको लागि स्क्रिनहरू आपूर्ति गर्दै आएको छ। त्यसैले, यदि एप्पलले फोल्डेबल डिभाइसहरूको लागि यो साझेदारी जारी राख्यो भनेपनि यसमा कुनै आश्चर्यको कुरा हुने छैन्। साथै सामसङ विशेष गरी फोल्डेबल फोनहरूमा पहिलेदेखि नै अग्रणी स्थानमा रहँदै आएको छ।
त्यसैगरी, फोल्डेबल आईफोनको डिजाइनको बारेमा अझै पनि ठोस विवरण उपलब्ध नभएको जनाइएको छ। एप्पलको पहिलो फोल्डेबल डिभाइसमा सामसङ ग्यालेक्सी जेड फ्लिपको जस्तै क्ल्यामशेल डिजाइन हुन सक्ने सम्भावना रहेको केही अफवाहहरूले उल्लेख गरेका छन्। साथै अन्य अफवाहहरूले यसमा ट्याब्लेटको जस्तै ठूलो, फोल्ड–आउट डिस्प्ले हुन सक्ने सुझाव दिएको छ। त्यसैगरी एप्पलको पेटेन्टहरूले विभिन्न सम्भावनाहरूमा सङ्केत गरेको भए तापनि पुष्टि भने भएको छैन्।
फोल्डेबल डिभाइसको बारेमा एप्पल आफैं पनि मौन रहेको छ। सामसङ र अन्य कम्पनीसँग पहिले नै फोल्डेबल फोनहरू रहेको अवस्थामा एप्पलले भने यसलाई विस्तारै लिइरहेको हुन सक्ने अनुमान छ।
आईफोनको बारेमा मात्र नभएर एप्पलले २० इन्च भन्दा ठूलो डिस्प्ले भएको फोल्डेबल आईप्याडमा फोकस गर्न सक्ने सम्भावनाको पनि चर्चा भइरहेको छ। ट्याब्लेट र ल्यापटप फिचरहरूको मिश्रणले गर्दा यो उच्च–स्तरीय प्रोडक्टिभिटी टुल बन्न सक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार