
काठमाडौं ।
गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ।
प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशल सहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका ब्यक्तीहरुलाई केन्द्रित गर्दै यस कार्यक्रम ल्याइएको हो।
यस पहलले नेपाली व्यक्तिहरूलाई उनीहरूको दक्षता र योग्यताहरू विशेष गरी गतिशील सूचना प्रबिधि क्षेत्रहरूमा अगाडी बढाउन कार्यक्रम उपयुक्त हुने बताईएको छ। यस कार्यक्रमले ५०० आवेदकहरूलाई गुगल प्रमाणित करियर सर्टिफिकेट पाठ्यक्रमहरूमा ६ महिनाको व्यापक अनलाइन प्रशिक्षणको लागि छात्रवृत्ति भर्ना गर्ने योजना बनाएको छ।
यसका साथै आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउने उद्देश्यले सेजनसँग सहकार्य थालनी गरिएको छ। सेजन अध्यक्ष सुजन ओली र मेरो जबका प्रवन्ध निर्देशक शैलेन्द्रराज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
अनलाइनमाध्यमबाट सञ्चालन हुने छात्रवृत्ति कार्यक्रममा कुल ६ ओटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुने छ। यी कार्यक्रमहरू सामान्यतया आईटी समर्थन, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव यूएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा भूमिकाहरूको लागि आवश्यक प्राविधिक सीप र ज्ञानमा केन्द्रित हुन्छन्।
छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले ६ महिनाको अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तिर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त हुने प्रवन्ध निर्देशक गिरिले जानकारी दिए।
गुगलबाट पहिलो पटक यस प्रकारको कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको दाबी गरिएको छ।
यस कार्यक्रममा सहभागी प्रतिक्षार्थीले छात्रवृत्ति कार्यक्रम अन्तर्गत अनलाइनबाट सञ्चालन हुने पाठ्यक्रममा नियमित सहभागी हुनुपर्छ। साथमा पाठ्यक्रम लिइने परीक्षा, सामुहिक छलफल र अन्तरक्रियामा भाग लिनुपर्छ।
त्यसरी नियमित सहभागी नहुने गुनासो भएमा त्यस्ता प्रशिक्षार्थीलाई कार्यक्रमको बीचबाटै निष्काशन समेत हुन सक्ने प्रवन्ध निर्देशक गिरीले जानकारी दिए। उनका अनुसार गुगलबाट आउने कन्टेन्टलाई नेपाली परिवेश सुहाउँदो बनाउन बीच बीचमा कम्पनीले नेपाली विज्ञबाट समेत वेबीनार गराउने योजना बनाइएको छ।
छनोटका लागि निश्चित मापदण्डहरू छन् र तोकेका शर्त पुरा गर्नेहरुलाई तोकिएको कोटा भित्रबाट छनोट गरिने भएको छ। अंग्रेजी पढ्न र लेख्न सक्नेले यस कार्यक्रममा भाग लिन सक्ने भएका छन्। प्रशिक्षार्थीसँग ल्यापटप वा कम्प्यूटर र इन्टरनेट हुनुपर्ने आधारभूत शर्त तोकिएको छ। छनोट गर्दा प्रारम्भमै एक फारम भर्नुपर्ने र त्यसमा एआई वा अन्य माध्यमबाट ट्रान्सलेट नगरी फारममा सोधिएको प्रश्नको उत्तर दिनुपर्ने शर्त समेत राखिएको छ।
आर्थिक रूपमा पिछडिएको वर्ग वा सीमान्तकृत समूहका आवेदकहरूलाई प्राथमिकता दिइने प्रवन्ध निर्देशक गिरिले जानकारी दिएको जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: ३१ बैशाख २०८१, सोमबार