वानएक्स बेटमार्फत सट्टेबाजी गरेर दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गर्ने पक्राउ

  • Technology Khabar | ३१ बैशाख २०८१, सोमबार
वानएक्स बेटमार्फत सट्टेबाजी गरेर दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गर्ने पक्राउ

काठमाडौं ।

विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई पक्राउ गरेको छ।

विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिप्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमा भने, “ढुङगानाले ५५ ओटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ।”

यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ ओटा कनेक्ट आईपीएस, १५ ओटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ ओटा बैंकमा हालसम्म रु दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

बाइनान्समार्फत दुई ओटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली रु. एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो।

सट्टेबाजी गर्न/गराउन प्रयोग एका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान,  भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको जनाएको छ।

प्रकाशित: ३१ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार