दूरसञ्चार प्राधिकरणले दियो नेपाल टेलिकमलाई ५ वर्षको नयाँ अनुमति पत्र

Technology Khabar २८ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी मोबाइल अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई जीएसएम सेवाको नयाँ अनुमति पत्र (लाइसेन्स) ५ वर्षका लागि दिएको छ।

कम्पनीलाई नियामकले आजै सरकारको निर्णयअनुसार नयाँ अनुमति पत्र दिएको हो।

कम्पनीलाई जीएसएम मोबाइल सेवाको अनुमति प्रदान गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। उनले टेलिकमलाई ५ वर्षको लागि २१ करोड रुपैयाँमा लाइसेन्स दिईएको बताए।

“आजै टेलिकमले अनुमति पत्र लगिसकेको छ। अब ५ वर्षपछि सरकारले गर्ने निर्णयमा के हुन्छ त्यतिबेलै थाहा हुन्छ,” उनले टेक्नोलोजीखबरसँग भने।

यसका साथै नियामकले दिनका लागि निर्देशन दिने निर्णय गरेसँगै कम्पनीको सेवा निरन्तर गर्नेसमेत निर्देशन दिएको छ।

यसअघि सरकारले दूरसञ्चार ऐन २०५३ को दफा २० अनुसार र दफा ३३ अनुसार कम्पनीको सेवा निरन्तर प्रदान गर्ने निर्णय गरेको हो। दफा ३३ को उपदफा (४) मा “जम्मा पूँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसंचार सेवाको संचालन अनुमतिपत्रको अवधि समाप्त भएपछि पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई संचालन गर्न सक्नेछ,” भन्ने उल्लेख छ। सोहीआधारमा सरकारले निर्णय गरेको थियो।

सरकारकै निर्णयलाई टेकेर नियामक प्राधिकरणले अनुमति पत्र जारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

“सरकारले हामीलाई निर्णय गर्ने अधिकार दिएको हुँदा र अन्य विषयलाई समेत ध्यानमा राखेर ५ वर्षको मात्र दिएको हो,” उनले भने, “ऐनमा अधिकतम १० वर्षसम्मको प्रावधान भएपनि हामीले ५ वर्षको मात्र दिएका हौं।”

यसअघि नेपाल टेलिकमले आफैंले २०८० माघ २८ गते नै नयाँ अनुमति पत्रका लागि २१ करोड रुपैयाँ तिरेको थियो। सोहीअनुसार कम्पनीले त्यस बेलानै नियामकसँग सोहीअनुसार नयाँ अनुमति पत्र मागेको थियो।

सम्बन्धित समाचार-

मोबाइल सेवाको अनुमति पत्र सकिन लागेको नेपाल टेलिकमले दियो नयाँ लाइसेन्सको आवेदन

हाल नेपाल टेलिकमले माग गरेको र नियामकलाई तिरेअनुसार नै नयाँ अनुमति पत्रको दस्तुर नियामकले तोकिदिएको छ।

त्यस्तै नियामकले दूरसञ्चार ऐनको दफा २५ को उपदफा १ मा रहेको कानूनी प्रावधान “…तर एक पटकमा दश वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिइनेछैन,” भन्ने बुँदालाई टेकेर हालका लागि ५ वर्षे अनुमति पत्र दिएको हो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २०५६ सालमा लिएको जीएसएम मोबाइल सेवाको अनुमति पत्रको २५ वर्ष आज बैशाख २८ गते पुरा हुँदैछ।

यो पनि हेर्नुहोस्-

नेपाल टेलिकमलाई नयाँ अनुमति पत्र दिने सरकारको निर्णय नियामककोमा, आजै लाइसेन्स जारी गर्ने तयारी

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया