काठमाडौं महानगरको सिप मेलामा ‘मोबाइल रिपेयरिङ’ को तालिम थप

  • Technology Khabar | २४ बैशाख २०८१, सोमबार
काठमाडौं महानगरको सिप मेलामा ‘मोबाइल रिपेयरिङ’ को तालिम थप

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’मा मोवाइल रिपेयरिङको अत्याधिक माग आएपछि तालिम थप गरिएको छ।

यस्तै टेलरिङ (ड्रेस मेकिङ) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।
तालिम सञ्चालनका विषयमा जानकारी लिन क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थालेका छन्।

यसै क्रममा तालिमको चौथो दिन मेलाअन्तर्गत १० ओटा विधामा ३० ओटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन्। तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन्। तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४/४ घण्टा हुन्छन्। अरु कक्षाहरु ३/३ घण्टा हुन्छन् ।

यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ।

कुन तालिम कति दिन चल्छ?

तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन्। रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ। एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन।’

१० ओटा विधामध्ये अटो मोवाइल्समा ३ ओटा पेशासँग सम्बन्धित तालिम छन्। पहिलो पेशा अटो इलेक्ट्रिक हो। यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो। यो पनि १५ दिनकै हो। तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो। यसमा ३० दिनको कक्षा हुनेछ।

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ ओटा पेशासँग सम्बन्धित तालिम छन्। यी सबै तालिम ३० दिन अवधिका हुन्।

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस तालिम छन्। यीमध्ये फास्ट फुड कुक १५ दिनको हो। अरु ७ दिन अवधिका हुन्।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ ओटा पेशाका तालिम छन्। डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङका कक्षा चलिरहेका छन्। यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन्।

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ।

आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ। यसको अवधि १५ दिनको हुनेछ।

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ/ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ ओटा कक्षा चलाइएको छ।

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ ओटा पेशा समेटिएका छन्। यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन्। मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन्।

डिजाइनिङ् विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ।
पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन्।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरु स्टलमा रहनेछन्। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन्। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछन् । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने महानगरपालिकाको विश्वास छ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...