हालै सार्वजनिक भएका नोकियाका फीचर फोनहरूले फोरजी र युट्युब शर्टस सर्पोट गर्ने

Technology Khabar २२ बैशाख २०८१, शनिबार

काठमाडौं ।

एचएमडी ग्लोबलले नोकिया २१५ फोरजी, नोकिया २२५ फोरजी र २३५ फोरजी गरी तीन नयाँ फिचर फोनका मोडलहरू आधिकारिक रुपमा सार्वजनिक गरेको छ।

यी फोनहरूलाई किफायती मूल्यहरूमा आवश्यक मोबाइल सुविधाहरू प्रदान गर्न डिजाइन गरिएको छ, जसमा फोरजी क्षमताहरू, मल्टिपल कलर्सका साथै क्लासिक टी९ किबोर्ड समावेश गरिएको छ।

नोकिया २१५ फोरजी, २२५ फोरजी र २३५ फोरजीका स्पेक्सहरूः

नोकिया २१५ फोरजी र २३५ फोरजीमा समान २.८ इन्चको स्क्रिन रहेको छ भने नोकिया २२५ फोरजीमा २.४ इन्चको डिस्प्ले समावेश गरिएको छ। यी सबै मोडलहरू क्यूभीजीए रिजोल्युसनको साथ आउने र युनिसोक टी१०७ प्रोसेसरद्वारा संचालित हुने उल्लेख गरिएको छ। त्यसैगरी यी फीचर फोनहरूले प्रयोगको सहजताका लागि भनेर डिजाइन गरिएको एस३० प्लस अपरेटिङ सिस्टममा काम गर्ने उल्लेख छ।

यद्यपि नोकिया २१५ फोरजीमा क्यामरा समावेश गरिएको छैन्। नोकिया २२५ फोरजीमा भने आधारभूत भीजीए क्यामरा समावेश गरिएको र नोकिया २३५ फोरजीमा २ मेगापिक्सेलको क्यामरा रहेको छ। यी फोनहरूले ब्लुटुथ ५.०, ३.५एमएम हेडफोन ज्याक र यूएसबी टाइप–सी पोर्टहरू समर्थन गर्ने जनाइएको छ।

त्यसैगरी यी फोनहरूमा १४५० एमएएच रिमुभेबल ब्याट्री पनि रहेको र डुअल सिम सेटअपमा ९.८ घण्टा सम्मको टक टाइम प्रदान गर्नेछ।

यस बाहेक यी फोनहरूले समाचार, मौसम रिपोर्ट र युट्युब शर्ट्स प्रदान गर्ने क्लाउड एपहरूलाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ।

मूल्य निर्धारण र उपलब्धताः

नोकिया २१५ फोरजीको मूल्य लगभग ६३ अमेरिकी डलरमा सुरु हुनेछ भने नोकिया २२५ फोरजी र नोकिया २३५ फोरजी क्रमशः ७४ अमेरिकी डलर र ८४ अमेरिकी डलर भएको उल्लेख गरिएको छ। साथै फोनहरूको प्रारम्भिक रोलआउट युरोपमा हुनेछ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया