इन्टरनेट पुनर्स्थापित भएको जस लिने होडमा नियामक र सेवा प्रदायक कम्पनीहरु

Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

बिहीबार बन्द भएर पुनर्स्थापित भएको इन्टरनेट खुलाउन आफ्नो अहम भूमिका भएको भन्दै जस लिने होडमा सरकार, नियामक र सेवा प्रदायक कम्पनीहरु देखिएका छन्।

नेटवर्क सर्भिस प्रोभाइडरहरुले भुक्तानी नदिएको भन्दै बिहीबार अपस्ट्रिम सेवा प्रदाय भारती एयरटेलले नेपालको ब्याण्डविथ काटिदिएको छ। जसका कारण बिहीबार साँझदेखि नेपालको इन्टरनेटमा समस्या देखिएको थियो।

इन्टरनेट सेवामा एक्कासि अवरोध हुँदा आम सर्वसाधारणदेखि सेवा प्रदायकमा अन्यौलता छाएको थियो। यसबिच मध्यरातदेखि इन्टरनेट सेवा पुनर्स्थापित भएको छ। सरकार, नियामक नेपाल दूरसञ्चार प्राधिकरण र नेटवर्क सर्भिस प्रोभइडरहरुले आफ्नो कारणले इन्टरनेट पुनर्स्थापित भएको भन्दै जस लिन खोजिरहेका देखिन्छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल भारती एयरटेललाई प्राधिकरणले मेल गरेकाले इन्टरनेट पुनर्स्थापित भएको दाबी गरेका छन्।

‘हाम्रो प्रयासले इन्टरनेट सञ्चालनमा आएको हो। हामीले एयरटेलसँग कुरा गर्यौ,’ पौडेलले भने, ‘सेवा प्रदायकले तिर्नुपर्ने पैसा हो।’

सेवा प्रदायकले तिर्नु पर्ने पैसा नतिरेकाले नेपाली जनतामाथि अन्याय गर्न पाइदैन भनेर प्राधिकरणले गरेको आग्रह स्वीकार गर्दै एयरटेलले इन्टरनेट खोलेको उनको भनाई छ।

यस्तै वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सीईओ केशव नेपाल पनि आफ्नै कारणले इन्टरनेट सञ्चालनमा आएको दाबी गर्छन्।

बिहीबार दिउँस इन्टरनेट एक्कासी के भएर डाउन भयो भन्ने थाहा हुन सकेको थिएन्। त्यसपछि बुझ्दा भुक्तानीका कारण इन्टरनेट काटिएको एयरटेलको टेक्निकल सर्पोटबाट जानकारी प्राप्त भएको नेपालले बताए।

इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरोध गरेपछि वर्ल्डलिंकले एयरटेललाई कडा इमेल लेखेको उनले जानकारी दिए। उनका अनुसार इमेलमा यस्तो लेखिएको थियो, ‘तपाईले इन्टरनेट काटिसकेपछि तुरुन्त पुनर्स्थापित गर्नु भएन भने पैसा पनि तिर्दैनौं र अर्को प्रोभाइडर पनि खोज्छौं। सरकारसँगको मुद्दा अदालतमा विचारधिन अवस्थामा छ। मे ६ मा अदालतबाट सम्भवत निर्णय आउँछ। ७ मेमा तिमीलाई कहिलेसम्म भुक्तानी गर्न सकिन्छ भनेर भन्न सक्छौं। उक्त अवधिसम्म इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गरिएको छ।’

कम्पनीको तर्फबाट कडा इमेल गए पछि उता (एयरटेल)मा के भयो थाहा भएन तर राती करिब १० बजेपछि इन्टरनेट पुनःर्स्थापित भएको उनले जानकारी दिए।

यस्तै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का सीईओ सुभाष खड्काले इन्टरनेट सेवा प्रदायकहरुको अनुरोधपछि इन्टरनेट सेवा जोडिएको बताए।

‘रातीनै सबैले एयरटेललाई अनुरोध गरेका थिए। त्यसपछि इन्टरनेट पुनर्स्थापित भयो,’ सीईओ खड्काले भने।

यसबीचमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निकट स्रोतले पनि मन्त्रीको पहलले गर्दा इन्टरनेट पुनर्स्थापित भएको जिकिर गरेको छ।

“नेट काटिएपछि मन्त्रीले नियामक दूरसञ्चार प्राधिकरण सरकारी अपरेटर नेपाल टेलिकम र मन्त्रालयका उच्च अधिकारीहरुलगायतलाई बोलाएर छलफल गर्नुभयो भने उता(एयरटेलसँग ) कुरा गर्नुभयो। त्यसपछि इन्टरनेट जोडियो,” स्रोतले दाबी गर्यो।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया