भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले इन्टरनेट काटिदिँदा नेपालमा इन्टरनेट सेवामा समस्या

Technology Khabar २० बैशाख २०८१, बिहीबार

काठमाडौं ।

आज अपरान्ह ४ बजेदेखि एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट ब्याण्डविथ काटिदिँदा समस्या उत्पन्न भएको छ। कतिपय सेवा प्रदायकहरुले आफ्नो इन्टरनेट सेवा रोकिएको वा सुस्त चलेको बताएका छन्।

भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुको अपस्ट्रिम सेवा काटिदिएको हो।

सेवा प्रदायकहरुले लामो समयदेखि रकम नतिरेपछि ब्याण्डविथ आपूर्तिकर्ताले इन्टरनेट काटिदिएको एक इन्टरनेट सेवा प्रदायकका अधिकारीले बताए।

यसैबीच आइस्पानका सिईओ सुभाष खड्काले आधिकारीकरुपमा इन्टरनेट सेवा काटिएको जानकारी नभएको भन्दै सेवामा समस्या भएको गुनासो आएको बताए।

“विदेशबाट अपस्ट्रिम ब्याण्डविथ आयात गर्दै आएका कम्पनीहरुको सेवा सटडाउन भएको छ। तर आधिकारीकरुपमा केहि भनिएको छैन्।”

यसैबीच एक सेवा प्रदायक कम्पनीले भने यसलाई व्यवस्थापन गर्न अन्य विकल्पहरु तयार पारिरहेको र काम गरिरहेको बताएका छन्।

“हामी प्रयासरत छौं समस्या समाधान गर्न वैकल्पिक उपाय गरिरहेका छौं,” उनले भने।

हाल एयरटेलले नेपालका वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, भायनेट कम्युनिकेसन लिमिटेड, सुबिसु केबलनेट लिमिटेड, टेकमाइण्डस लगायत प्रमुख सेवा प्रदायकका ब्याण्डविथ रोकिदिएको बताईएको छ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया