Technology Khabar २० बैशाख २०८१, बिहीबार
काठमाडौं ।
लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनामा लगानी सुनिश्चित गर्न सकिए नेपालको आर्थिक समृद्धिमा नयाँ आयम थपिने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।
सम्पन्न लगानी सम्मेलनमार्फत अघि सारेका डाटा सेन्टर, आईटी/ टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेशन सेन्टरलगायतका परियोजनामा लगानी सुनिश्चित गर्न सकियो भने नेपालको आर्थिक समृद्धिमा नयाँ आयाम थपिने मन्त्री शर्माको दाबी छ।
‘अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो। यसको विकास डिजिटल रुपान्तरणबाट मात्रै संभव हुनेछ,’ मन्त्री शर्माले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ लाई सम्बोधन गर्दै भनिन्, ‘विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर हामीले जतिसक्यो चाँडो आवश्यक नीति र कानुन बनाउनुपर्ने छ।’
यसका साथै सूचना प्रविधिको प्रयोग सुरक्षित बनाउन देशभर डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।
सूचना प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढे पनि हामीसँग अझै डिजिटल डिभाइड बाँकी गरेको उनको भनाइ छ। एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच स्थापित गर्नुपर्ने छ भने अर्कोतिर सबै नागरिकले समानरुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्ने छ। यसका लागि सरकार गम्भीर र प्रतिबद्ध भएको उनले बताइन्।
दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ। दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको छ। सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ। निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातवारण सिर्जना गर्न कानुन तथा मापदण्डको तत्काल तर्जुमा गरिदै गरेको उनले जानकारी दिइन्।
सूचना प्रविधि उद्योग र खासगरी अहिले बढिरहेको सेवा निर्यातलाई व्यवस्थित निकै भविष्यमै आईटी हब सञ्चालन गर्नु अनिवार्य भइसकेको छ । सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पूँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सिप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने उनको दाबी छ।
प्रकाशित: २० बैशाख २०८१, बिहीबार