गोगोरोको ब्याट्री स्वापिङ इकोसिस्टम नेपालमा लन्च, गोगोरो क्रसओभर जीएक्स२५० अनावरण

Technology Khabar १७ बैशाख २०८१, सोमबार

काठमाडौं ।

ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी कम्पनी गोगोरो आइएनसी र नेबुला इनर्जीले काठमाडौंमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कूटर लन्च गरेका छन्।

पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो। नेबुला इनर्जी प्रा.लि. नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्टस्कूटर जीएक्स२५० को अनावरण गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नविन प्रविधि र दिगो गतिशिलता मार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे।

“नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ”, गोगोरोका प्रतिनिधिले भने, “गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्छन्।”

गोगोरो स्मार्ट ब्याट्रीहरूमा केहि सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको बताईएको छ। गोगोरोको नयाँ क्रसओभर स्मार्टस्कूटर जीएक्स२५० (CrossOver Smartscooter GX250) नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको दाबी छ।

नेबुला इनर्जीले सुरुमा रणनीतिक साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्नेछ र त्यसपछि हरेक २-३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर गोस्टेशनहरु स्थापना गर्ने योजना रहेको जनाएको छ।

नेबुला इनर्जीले गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू दशैंदेखि रिटेल ग्राहकका लागि उपलब्ध गराउने छ।

गोगोरो क्रसओभर स्मार्ट स्कुटर सिरिज

नेबुला इनर्जीले गोगोरो क्रसओभर अल्टिमेट दुई पाङ्ग्रे एसयुभी GX250 स्मार्ट स्कुटर प्रस्तुत गर्दैछ। भारतको महाराष्ट्रमा निर्मित GX250 गोगोरोद्वारा भारतमा निर्मित पहिलो स्मार्टस्कुटर हो। क्रसओभर शृङ्खला पुन: डिजाइन गरिएको अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिंग र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्दछ।

क्रसओभर GX250 को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरताका साथ ठूला भारहरू पनि बोक्छ।

गोगोरो ब्याट्री-स्वापिङ टेक्नोलोजी

गोगोरोको इकोसिस्टमको केन्द्रबिन्दुमा रहेको एउटा खुला र अन्तरसञ्चालित ब्याट्री स्वापिङ प्लेटफर्मका लागि यस वर्षको सुरुवातमा गाइडहाउस इनसाइट्सले विश्वमा हल्का शहरी सवारी साधनहरूको ब्याट्री स्व्यापिङ गर्ने अग्रणी कम्पनीको रूपमा यसलाई मान्यता प्रदान गरेको थियो। गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो जुन स्मार्ट अनि सुरक्षित छ र यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।

ताइवानमा गोगोरो नेटवर्कले छ लाखभन्दा बढी राइडरहरूलाई सेवा दिएको छ र यसका पच्चीस सय स्थानहरूमा उपलब्ध १२,००० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् चौध लाखभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा रहेको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १७ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया