Technology Khabar १० बैशाख २०८१, सोमबार
काठमाडौं ।
गत वर्षदेखि केही सामसङ ग्यालेक्सी डिभाइसहरूमा ग्रीन लाइन (हरियो धर्सा) समस्याहरूको बारेमा गुनासो हुँदै आएको छ। यो समस्याले मुख्यतया सुपर एमोलेड डिस्प्ले भएका मोडलहरूलाई असर गर्ने जनाइएको छ।
यो समस्या व्यापक रुपमा देखापर्न थालेपछि सामसङले केही बजारहरूमा एक पटकसम्मका लागि भनेर निःशुल्क डिस्प्ले प्रतिस्थापन गर्नका लागि एउटा कार्यक्रम प्रस्तुत गरेको छ। सोही क्रममा कम्पनीले गत वर्षदेखि भारतमा यो सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको छ।
निःशुल्क डिस्प्ले रिप्लेसमेन्ट (प्रतिस्थापन) को लागि योग्य डिभाइसहरूमा सामसङ ग्यालेक्सी एस २० र नोट २० सिरिजहरू समावेश रहेका छन्। साथै नयाँ सामसङ स्मार्टफोनहरूमा पनि उही समस्या देखा पर्न थालेपछि सामसङले अब ग्यालेक्सी एस २१ र एस २२ सिरिजहरू पनि कभर गर्ने कार्यक्रम विस्तार गरेको जनाइएको छ।
स्क्रिनमा रहेका ग्रीन लाइन (हरियो धर्सा) हरूले डिभाइसको उपयोगितामा उल्लेखनीय रूपमा बाधा पुर्याउन सक्ने बताईएको छ। साथै यस्तो अवस्थामा एप खोल्ने जस्ता साना कार्यहरूमा पनि समस्याहरू झेल्न पर्ने उल्लेख गरिएको छ।
तसर्थ सामसङले प्रभावित प्रयोगकर्ताहरूलाई मद्दत गर्नका लागि भनेर निःशुल्क डिस्प्ले प्रतिस्थापन अफर ल्याएको हो। डिस्प्लेको साथमा, प्रभावित डिभाइसहरूले निःशुल्क ब्याट्री र किट प्रतिस्थापन पनि पाउने छन्।
यद्यपि यो अफर एक समयसीमासम्म मात्र उपलब्ध हुने उल्लेख छ। यसको लागि सन् २०२४ को अप्रिल ३० तारिखसम्ममा सामसङ सेवा केन्द्रमा निःशुल्क प्रतिस्थापनको लागि अपोइन्टमेन्ट बुक गर्नुपर्ने छ।
ग्यालेक्सी एस२१ र एस२२ सिरिजहरूले अझै पनि सफ्टवेयर अद्यावधिकहरू प्राप्त गरिरहेको र तुलनात्मक रूपमा आधुनिक हार्डवेयर भएको हुनाले यो निः शुल्क मर्मतले यी स्मार्टफोनहरूको जीवन थप विस्तार गर्नका लागि मद्दत गर्न सक्ने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १० बैशाख २०८१, सोमबार