चैतसम्म ५९ करोडको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

Technology Khabar १० बैशाख २०८१, सोमबार

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ५८ करोड ९१ लाख ३६ हजार रुपैयाँ बराबरको ४ हजार ९५२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा ८१ करोड २० लाख २८ हजार रुपैयाँ बराबरको ६ हजार २६३ इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको चैत मसान्तसम्म २२ करोड २८ लाख ९२ हजार रुपैयाँले घटेको छ। यस्तै इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयात १ हजार ३११ यूनिटले घटेको छ।
सरकारले इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात मार्फत १८ करोड ७५ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा ४ मुलुकबाट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर चीनबाट आयात हुने गरेको छ। चीनबाट ३१ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको ३ हजार ५२९ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

भारतबाट २५ करोड ६१ लाख ३७ हजार रुपैयाँ बराबरको १ हजार ३४९ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

इन्डोनेसियाबाट १ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको ७२ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

यूएईबाट १२ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ।

प्रकाशित: १० बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया