नेपाल टेलिकमका पूर्व एमडी पौडेल विरुद्ध अर्को भ्रष्ट्राचार मुद्दा, सेटिङ्गमा ठेक्का सम्झौता गरी कमाएको आरोप

Technology Khabar ९ बैशाख २०८१, आईतवार

नेपाल टेलिकमका पूर्व एमडी पौडेल विरुद्ध अर्को भ्रष्ट्राचार मुद्दा, सेटिङ्गमा ठेक्का सम्झौता गरी कमाएको आरोप
नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल। फाइल तस्विर

काठमाडौं ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन प्रशासकीय अधिकृत नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकोमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

उनका साथै पौडेलका दाजु अनिल पौडेललाई समेत विपक्षी बनाई तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैँया बराबर भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ।

पौडेल २०६१ जेठ २० गते राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई मिति २०६२ माघ २८ गतेसम्म कार्यरत रहेको, निज पुनः केन्द्रको बिभिन्न पदमा करारमा कार्यरत रहेकोमा सो केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भई मिति २०७८ चैत २४ गतेसम्म सोही पदमा कार्यरत रहेको र २०७८ चैत २५ गतेदेखि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई कार्यरत रहँदाको अवधिमा निजको आयतर्फ अंशहक वापत प्राप्त रकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट पारिश्रमिक बचत तथा अन्य सुबिधावापत प्राप्त रकम, नेपाल टेलिकमबाट पारिश्रमिक बचत, नेपाल टेलिकमबाट प्राप्त स्वदेश तथा विदेश भ्रमण भत्ता वापत प्राप्त रकम, बिभिन्न कम्पनीको शेयर बिक्री गर्दा प्राप्त रकम मध्ये खरिद गर्दा स्रोत खुलेको शेयर बिक्रीवापत प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम र स्वदेशमा रहेका बैङ्क निक्षेपवापत प्राप्त बैङ्क ब्याज रकमसमेत गरी जम्मा एक करोड उन्नाईस लाख चौबीस हजार आठ सय छयालीस रुपैयाँ आम्दानी गरेको अख्तियारको भनाई छ।

यसैगरी सुचना प्रवधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैँले टेण्डरहरुको कोटेशन बनाई योजनाबद्ध ढङ्गले आफैँले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्लुडीएन (WDN), ओबिसीआई (OBCI), म्याक्स (MAX), Next Gen Solution नेक्स्टजेन सलुसन सहितकासँग ठेक्का सम्झौता गर्ने र उक्त स्वदेशी आपूर्तिकर्ताहरुले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र बानकोटेक प्रालिजस्ता कम्पनीहरुसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरु स्वदेशमा आपूर्ति गर्ने गरेको आरोप पत्रमा उल्लेख छ।

सो साझेदारी बापत विदेशी कम्पनीहरुले कमिशन बापत निजको सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्कको बैङ्क खातामा प्राप्त रकम, सोही बैङ्कबाट ट्रान्सफर गरेको रकम, सहोदर दाई अनिल पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको रकम, विदेशमा गहना खरिद गर्दा खर्च गरेको रकम, विद्युतीय माध्यमको प्रयोग गरी अमिल्दो र उच्च जीवनस्तर यापनमा गरेको अन्य खर्च रकम, स्वदेशी बैङ्कहरुमा रहेको बैङ्क मौज्दात रकम, बिभिन्न कम्पनीहरुको शेयर खरिदमा खर्च गरेको रकम, सिङ्गापुरको प्रुण्डेसियल कम्पनीमा जीवन बीमाको प्रिमियमवापत तिरेको रकम, निजी तवरमा बिभिन्न देशमा भ्रमण गर्दा हवाई यात्रा/भ्रमण खर्च रकम, स्वदेशमा सुनचाँदी, हिरा/जवाहरात खरिद गर्दा खर्च गरेको रकम, स्वदेशमा बीमाको प्रिमियमवापत खर्च गरेको रकम, घरबहाल खर्चवापत तिरेको रकम, विदेशमा होटलबासवापत खर्च गरेको रकम, सवारी साधन खरिद गर्दा खर्च गरेको रकम, सवारी कर दस्तुर र नविकरणवापत खर्च गरेको रकम, नगद मौज्दात रहेको रकम र विदेशमा कपडा खरिद गर्दा खर्च गरेको रकम गरी जम्मा रु चौबीस करोड चौरानब्बे लाख एकहत्तर हजार एक सय एकहत्तर रुपैयाँ पैसा चार खर्च तथा लगानी गरेको देखिने अख्तियारले भनेको छ।

जाँच अवधिमा स्रोत खुल्न आए बमोजिम निज सुनिल पौडेलको तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैँया बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत खुलेको नदेखिएकोले आय भन्दा व्यय बढी भै ऋणात्मक देखिएको बताईएको छ।

निज पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरुमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मोलमोलाई गरी ती कम्पनीहरुसँग गैरकानूनी कमिशन लिई विदेशी बैङ्कमा गैरकानूनी रुपमा बैङ्क खाता खोली रकम जम्मा गर्ने र त्यस्तो गैरकानूनी रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने, आफ्नो हैसियतभन्दा बढी खर्च गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गर्ने गरेकोसमेत प्रमाणित हुन आएकाले स्रोत नखुलेको रु.२३,७५,४६,३२४।५७ तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैया पैसा सन्ताउन्न बराबरको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारले दाबी गरेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा तेइस करोड पचहत्तर लाख छयालीस हजार तीन सय चौबीस रुपैया पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन माग गरिएको छ।

पौडेलले सूचना प्रविधि केन्द्र र नेपाल टेलिकममा राष्ट्रसेवकको रुपमा कार्यरत रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम पेस गरेको सम्पत्ति विवरणमा वास्तविक भए रहेको सम्पत्ति लुकाई/छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएको अख्तियारले भनेको छ।

निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुदार माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा र थप सजाय हुन माग गरिएको छ भने

निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति प्रचलित कानून बमोजिम जफत/असुल उपर हुनुपर्ने जिकिर छ।

यसैगरी निजको सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐनअनुसार जफत गर्नुपर्नेसहितको आरोप-पत्र दायर गरिएको जनाएको छ।

प्रकाशित: ९ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया