Technology Khabar ७ बैशाख २०८१, शुक्रबार
काठमाडौं ।
दोलखा जिल्लाको शैलुङ गाउँपालिका केन्द्र बाघखोर बजारमा सिसी क्यामरा जडान गरिएको छ।
बाघखोर पालिकाको मुख्य बजार क्षेत्र र पर्यटकीय क्षेत्र शैलुङ जाने पनि मुख्य प्रवेशद्वार पनि भएकाले बजार क्षेत्रको सुरक्षालाई ध्यान दिएर सिसी क्यामरा जडान गरिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गाउँपालिका र स्थानीय प्रहरीसँगको समन्वयमा एसएस फाउन्डेसनले क्यामरा जडान गरेको हो। बजार क्षेत्रका विभिन्न नाका र बजारमा निगरानीका लागि ६ ओटा क्यामरा जडान भएका छन्।
क्यामराको मनिटर इलाका प्रहरी कार्यालय बाघखोरमा राखिएको छ। प्रहरीले त्यसको निरन्तर निगरानी र रेकर्ड राख्ने गरेको छ।
शैलुङ क्षेत्रमा आपराधिक घटना बढेको गुनासोपछि सिसी क्यामरा राख्न सहयोग गरेको एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेतीले जानकारी दिए।
एक वर्ष अधि पनि बडा नम्बर ८ मा रहेको भैंसे बजारमा एसएस फाउन्डेसनले सिसी क्यामरा जडान गरेको थियो। त्यसको पनि मनिटर प्रहरी चौकी भैसेमा नै रहेको छ। भैंसेमा सिसी क्यामरा जडानपछि आपराधिक घटना कम भएको जनाइएको छ।
पछिल्लो समय सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्यटकलाई सुरक्षित महसुस गराउन सुरक्षा व्यवस्था चुस्त व्यवस्थित बनाउनु आवश्यक छ।
शैलुङ क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन पनि सिसी क्यामराले महत्त्वपूर्ण भूमिका खेल्ने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए। गोरखापत्रबाट
प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार