Technology Khabar ४ बैशाख २०८१, मंगलवार
काठमाडौं ।
स्मार्टफोन हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। एकातिर मोवाइल र ट्याब्लेटले मानिसको जीवनलाई सहज बनाउँछ भने अर्कोतिर यसले धेरै खतराहरू पनि लिएर आउँछ। स्मार्टफोनको लत वयस्कमा मात्र नभई बालबालिकामा पनि देखिएको छ। एक नयाँ अध्ययनले यस बानीको नराम्रो प्रभावको बारेमा कुरा गरेको छ।
लामो समयसम्म मोबाइल फोन वा ट्याब्लेटमा भिडियो गेम खेल्ने बालबालिकामा पछि गएर मनोवैज्ञानिक जटिलता हुनसक्ने अध्ययनले देखाएको छ। यसको अर्थ तिनीहरूले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।
क्यानडाको म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो अध्ययन गरेका हुन्। जसमा किशोरावस्थामा स्मार्टफोन र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले २३–२४ वर्षको उमेरमा पागलपन, भ्रम, (डेल्यूजन, हेलुसिनेशन-जसलाई मति भ्रम पनि भनिन्छ) हुने गरेको पाइएको छ । यी सबै मस्तिष्कसँग सम्बन्धित समस्या हुन्।
शोधकर्ताहरूले सन् १९९७ र १९९८ बीच जन्मिएका १२२६ सहभागीहरूमा यसको विश्लेषण गरेका थिए। यो अध्ययन जामा साइकियाट्री नामक जर्नलमा प्रकाशित भएको छ।
अनुसन्धानको क्रममा सहभागीहरूलाई धेरै प्रकारका प्रश्नहरू सोधिएको थियो, जसमा उनीहरूलाई कुनै विचलित गर्ने विचार वा अनौठो अनुभव छ कि छैन? यी मध्ये केही प्रश्नहरू थिए – के तपाईंले कहिल्यै महसुस गर्नुभयो कि मानिसहरूले तपाईंको बारेमा कुनै संकेत दिन्छन् वा तपाईंसँग दोहोरो अर्थका साथ कुरा गर्छन्? के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ कि तपाईंको दिमागमा रहेका विचारहरू तपाईंको आफ्नै होइनन्? के तपाईंले एक्लै हुँदा आवाजहरू सुन्नुभएको छ?
दिइएको जवाफको आधारमा शोधकर्ताहरूले किशोरावस्थामा भिडियो गेम खेल्नेहरूमा ३ देखि ७ प्रतिशत बढी मनोवैज्ञानिक अनुभव भएको निष्कर्षमा पुगेका थिए। तर अनुसन्धानकर्ताहरूले यो पनि भने, “यहाँ हामी टेक्नोलोजीलाई मात्र दोष दिन सक्दैनौं।”
बच्चामा कुनै पनि उपकरणको लत लाग्ने लक्षण देखिएमा चाँडै मानसिक रोगी हुन सक्ने चेतावनी दिएको बताइएको छ। अनुसन्धान टोलीले युवाहरूलाई पर्दाबाट पूर्णरूपमा हटाउनु समाधान नभएको बरु यो झन् हानिकारक हुनसक्ने बताएको छ।
यो अनुसन्धानले मनोवैज्ञानिकहरूलाई युवावस्थामा यस्ता मानसिक लक्षणहरू किन देखा पर्छन् र यस समस्यामा कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरा बुझ्न पक्कै पनि मद्दत गर्ने टोलीको आशा छ।
प्रकाशित: ४ बैशाख २०८१, मंगलवार