Technology Khabar १ बैशाख २०८१, शनिबार
काठमाडौं ।
गुगलको विकासकर्ता प्रविधि उत्पादनहरू र प्लेटफर्महरूमा रुचि राख्नेहरुको समूह गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंले यहि बैशाख ८ गते आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा नविनतम जानकारी दिन र व्यवसायीक डेभलपरहरुसँग सहकार्य गर्ने उद्देश्यले “बिल्ड विथ एआई २०२४: नेपाल (Build with AI 2024: Nepal)” नामक कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजककाअनुसार यो आर्टिफिसियल इन्टेलिजेन्सको रोमाञ्चक संसारमा सम्भावनालाई अनलक गर्न डिजाइन गरिएको ह्यान्ड्स-अन कार्यशाला श्रृंखला हो।
प्रि इभेन्ट सबैका लागि खुला भएता पनि उक्त कार्यक्रम व्यावसायिक कार्य विकासकर्ताहरूको लागि भएको बताईएको छ।
बिल्ड विथ एआई कार्यक्रम, गुगल विकासकर्ता समूह (जीडीजी) द्वारा आयोजित नि:शुल्क समुदायको नेतृत्वमा हुने प्राविधिक कार्यशाला हो। इभेन्टको उद्देश्य विकासकर्ताहरूलाई जेनएआई प्रचलनहरू र गुगलका प्रडक्टहरूमा उनीहरूको सीपहरू सिक्न र लागू गर्न मद्दत गर्ने बताईएको छ।
वैशाख ८ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एफ १ सफ्ट इन्टरनेशनलको प्रधान कार्यालय पुल्चोकमा हुनेछ।
यस ह्यान्ड्स-अन प्राविधिक कार्यशालामा, विकासकर्ताहरूले जेमिनी एपीआई, गुगल एआई स्टुडियो, मल्टिमोडेल आरएजी र भर्टेक्स एआई बारे सिक्नेछन्।
कार्यक्रमका प्रशिक्षक क्षितिज रिमाल र राजु दवाडी रहेका छन्। क्षितिज रिमाल, डाटा वैज्ञानिक र नेक्स्ट एआईका संस्थापक/सीईओ र सन् २०१८ देखि नेपालबाट मेसिन लर्निङमा गुगल डेभलपर विशेषज्ञ हुन। उनीसँग मेसिन लर्निङमा ६ वर्षभन्दा बढी र सफ्टवेयर इन्जिनियरिङमा एक दशकभन्दा लामो अनुभव छ। यसैगरी राजु दवाडी, क्लाउडमा जीडीई र प्राविधिक उत्साही र अनुभवी डेभओप्स र सिस्टम इन्जिनियर हुन्।
प्रशिक्षकहरूले सहभागीहरूलाई ह्यान्ड्स-अन जेनएआई कार्यशालाहरू मार्फत सुविधा दिने उल्लेख छ।
“बिल्ड विथ एआई २०२४: नेपाल” इभेन्टमा सहभागी हुन डेभलपरहरुले क्लिक गरेर आफ्नो नाम दर्ता गरी कार्यक्रमको हिस्सा बन्न सक्ने आयोजकले जानकारी दिएको छ।
प्रकाशित: १ बैशाख २०८१, शनिबार