सम्पत्ति शुद्धिकरण विधेयक प्रमाणीकरणः भर्चुअल मुद्रा कारोबार गरेमा पाँच वर्ष जेल सजाय हुने

Technology Khabar ३० चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

निर्दोष घोरसाईने

नेपालमा अभौतिक (भर्चुअल) मुद्राको कारोबार गर्नेले कठोर कानुनको सामना गर्नुपर्ने भएको छ। सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, राष्ट्रपतिबाट शुक्रबार मात्रै प्रमाणीकरण भएसँगै भर्चुअल मुद्राको कारोबार गर्नेहरु कठोर कानुनी फन्दामा पर्ने भएका हुन्।

आज प्रमाणीकरण भएको विद्येयकमा भर्चुअल मुद्रा कारोबारमार्फत आर्जित धन जफत गरिनुका साथै पाँच वर्ष जेल सजायको व्यवस्था गरिएको छ।

“(३) कसैले उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा बिगो र सोबाट बढे वा बढाइएको सम्पत्ति समेत जफत गरी पाँच वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना हुनेछ,’ प्रमाणित विधेयकमा उल्लेख छ।

अभौतिक मुद्राको प्रयोग गर्न नहुने

यसैगरी प्रमाणित भएको विद्येयकअनुसार नेपाल राष्ट्र बैंकले जारी गर्ने मुद्रा बाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने, गराउने वा नेपालभित्र वा बाहिरको व्यावसायिक कारोबारको भुक्तानी लिने, दिने वा हिसाब मिलान गर्ने वा अन्य कुनै प्रयोजनको लागि मुद्राको नाम लिई वा नलिई अभौतिक (भर्चुअल) मुद्राको उत्पादन, बिक्री, कारोबार, सटही वा स्थानान्तरण गर्न, राख्न वा त्यस्तो मुद्रा जारी वा हस्तान्तरण गर्न वा गराउन हुँदैन।

भर्चुअल मुद्रा

विद्येयकमा भर्चुअल मुद्राको समेत व्याख्या गरिएको छ। जसमा भनिएको छ- “अभौतिक (भर्चुअल) मुद्रा’ भन्नाले क्रिप्टोग्राफी वा अन्य कुनै तरिकाले सिर्जना वा उत्पादन गरिएको विद्युतीय माध्यमबाट मूल्य दर्शाउने वा मूल्यको प्रतिनिधित्व गर्ने व्यापारिक क्रियाकलापमा महत्व वा उपादेयता रहेको वा मूल्य वा खाताको एकाइमा सञ्चित वा भण्डारण गर्न सकिने सूचना कोड वा संकेत नम्बर, टोकन, क्रिप्टोकरेन्सी वा यस्तै किसिमको भर्चुअल सम्पत्ति सम्झनु पर्छ।”

हाल पनि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन तथा विद्युतीय कारोबार ऐनलगायतका कानूनको आधारमा भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गर्नेहरुलाई कारबाही गर्दै आएको छ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया