कारखाना स्थापना गर्ने बारे टेस्लाका प्रमुख इलन मस्कले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने

Technology Khabar २९ चैत्र २०८०, बिहीबार

काठमाडौं ।

इलेक्ट्रिक भेइकल (इभी) टेस्लाका प्रमुख इलन मस्क यसै अप्रिल महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न भारत आउने भएका छन्। मस्कले कम्पनीको लगानी र देशमा ईभी कारखाना स्थापना गर्ने घोषणा गर्न सक्छन्। यो बैठक अप्रिल २२ तारिखमा भारतको राजधानीमा हुनेछ।

यसबारे जानकारी दिने दुई श्रोतले नाम न छाप्ने सर्तमा मस्कसँगै अन्य केही पदाधिकारी पनि आउने बताएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। भारतीय प्रधानमन्त्रीको कार्यालय र टेस्लाले टिप्पणीको लागि अनुरोधलाई जवाफ दिएनन्।

गत वर्ष जुनमा भारतीय प्रधानमन्त्री मोदी र मस्कबीच अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको थियो । टेस्लाले देशमा विद्युतीय सवारी साधनमा आयात कर घटाउन लबिङ गरेको थियो। गत महिना, केन्द्र सरकारले नयाँ ईभी नीति घोषणा गरेको थियो जसमा अटोमोबाइल कम्पनीले कम्तिमा ५० करोड डलर लगानी गरेमा केही मोडेलमा लाग्ने आयात कर १०० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेको थियो। तर, देशका अटोमोबाइल कम्पनीहरूले यो छुटको कडा विरोध गर्दै आएका छन्।

भर्खरै, एक रिपोर्टले टेस्लाले भारतमा निर्यात गर्नको लागि जर्मनीमा आफ्नो प्लान्टमा दायाँ हाते ड्राइभ कारहरू उत्पादन गर्न थालेको उल्लेख गरेको छ। तर, टेस्लाको कुन मोडल भारतमा निकासी हुने हो थाहा छैन। मोडल वाई जर्मनीको बर्लिन नजिकैको कम्पनीको प्लान्टमा निर्माण गरिएको हो।

टेस्लाले आफ्नो कारखानाको लागि गुजरात, महाराष्ट्र र तमिलनाडु जस्ता राज्यहरूमा ध्यान केन्द्रित गर्नेछ जहाँ अटोमोटिभ उद्योग पहिले नै अवस्थित छ। कम्पनीको अमेरिका र चीनजस्ता ठूला बजारमा माग घट्दै गएकाले नयाँ बजारमा अवसर खोजिरहेको छ।

टेस्लाको बिक्री चालू वर्षको पहिलो त्रैमासिकमा ८.५ प्रतिशतले घटेको छ। करिब चार वर्षमा कम्पनीको त्रैमासिक बिक्री वार्षिक आधारमा घटेको यो पहिलो पटक हो। यसले टेस्लाको वृद्धिको बारेमा आशंका बढाएको छ।  विश्वभर विद्युतीय सवारी साधनको घट्दो बिक्री र बीवाईडी जस्ता ईभी निर्माताहरुबाट कडा प्रतिस्पर्धा यसका प्रमुख कारण भएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया