२३ ओटा नयाँ चार्जिङ स्टेसन संचालनमा

Technology Khabar २८ चैत्र २०८०, बुधबार

काठमाडौं ।

बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ। युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ।

ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ ओटा इ–स्टप नेपालले स्थापना गरेका हुन्।

यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।

नेपाल सरकारले तय गरेको शून्य कार्बन उत्सर्जनको अन्तिम लक्ष्य र त्यसअघिका आवधिक लक्ष्य परिपूरण गर्ने उद्देश्यले विद्युतीय सवारीको सहजता र सर्वसुलभता कायम गर्न यस्तो सहायता गरिएको युएस एआइडीका निमित्त मिसन निर्देशक कारिन वेल्चले जानकारी दिए। “निजी क्षेत्रलाई समेत प्रवर्धन गर्ने गरी हामीले गरेको यो सहायता परिचालन नेपालको ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहायकसिद्ध हुने छ,” उनले भने, “सरकार र अन्य साझेदारसँग यस्ता कार्यमा सहकार्य बढाउन हामी अझै तत्पर छौँ ।” सरकारले सन् २०३० सम्ममा निजी सवारी बिक्रीको ९० प्रतिशत र सार्वजनिक सवारीको ६० प्रतिशत बिक्री विद्युतीय सवारी पु¥याउने लक्ष्य लिएको छ।

चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी प्रवर्धनका लागि चार्जिङ पूर्वाधार सुविधा विस्तारले यस्ता सवारी प्रयोगमा अझै व्यापकता आउने अपेक्षा गरे। प्राधिकरणले आफैँ ५१ वटा सार्वजनिक चार्जिङ स्टेसन निर्माण गरेर यो काम आरम्भ गरेको थियो,” उनले भने, “अहिले दातृनिकायको अनुदान सहयोगमा २३ ओटा स्टेसन सञ्चालनमा आउँदा स्वच्छ ऊर्जा प्रवर्धनमा नयाँ सन्देश प्रवाह गर्ने छ।”

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले चार्जिङ स्टेसनको व्यावसायिक सञ्चालनमा निजी क्षेत्रले थालेको पहलले स्वच्छ ऊर्जा प्रवर्धनमा उल्लेख्य योगदान पुर्याउने बताए। ऊर्जा नेपालले विद्युतीय सवारी प्रवर्धनका लागि निजी क्षेत्रका नयाँ सोच र क्षमता सदुपयोग गर्ने गरी यस्तो सहायता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यात्री र इ–स्टपले आफ्नो अन्य व्यावसायिक सोच बहुआयामिक बनाउन र व्यवसाय र सेवालाई गुणस्तरीय बनाउन चार्जिङ स्टेसन व्यवसायमा प्रवेश गरेको जनाएका छन्। गोरखापत्रबाट 

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया