एप्पलले चीन र भियतनामको जस्तै औद्योगिक आवास मोडल भारतमा लागू गर्ने

  • Technology Khabar | २८ चैत्र २०८०, बुधबार
एप्पलले चीन र भियतनामको जस्तै औद्योगिक आवास मोडल भारतमा लागू गर्ने

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पलले भारतमा चीन र भियतनामजस्ता औद्योगिक आवास मोडल लागू गर्ने योजना बनाएको छ। यस अन्तर्गत, एप्पल उपकरणहरू उत्पादन गर्ने कम्पनीहरू र आपूर्तिकर्ताहरूले आफ्ना कर्मचारीहरूलाई आवास सुविधा उपलब्ध गराउनेछन्।

यी सबै पीपीपी अर्थात् सार्वजनिक–निजी साझेदारी मोडलमार्फत हुनेछन् । हाल ७८ हजारभन्दा बढी युनिट निर्माणको तयारी भइरहेको छ। जसमध्ये ५८ हजार युनिट भारतको तमिलनाडुमा मात्रै तयार हुने इकोनोमिक टाइम्सको एक रिपोर्टमा उल्लेख गरिएको छ।

एप्पलले पछिल्लो ३ देखि ४ वर्षमा भारतमा करिब १.५ लाख रोजगारी श्रृजना गरेको छ।

रिपोर्टका अनुसार केन्द्र सरकारले एप्पल हाउसिङ स्किममा पनि सहयोग गर्ने छ। उसले १० देखि १५ प्रतिशत रकम अनुदन दिनेछ। बाँकी रकम प्रदेश सरकार र व्यवसायीबाट लिने तयारी भइरहेको छ। यो आयोजना आगामी वर्ष मार्च महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण भइरहेका घरहरूको जिम्मेवारी तमिलनाडुको स्टेट इन्डस्ट्रिज प्रमोशन कर्पोरेशनको हातमा छ। टाटा समूह र एसपीआर इन्डियाले पनि आवासको तयारी गरिरहेका छन्।

कार्यस्थल नजिकै घर बनाउँदा कर्मचारीको दक्षतामा वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ। यसबारे जानकारी भएका व्यक्तिलाई उद्धृत गर्दै रिपोर्टमा महिला कर्मचारीका लागि यति ठूलो आवासीय आयोजना पहिलोपटक भएको लेखिएको छ। यो उल्लेखनीय छ कि एप्पलको उत्पादन सुविधाहरूमा ठूलो संख्यामा महिलाहरू काम गर्छन्। तिनीहरूमध्ये धेरैजसो भाडामा बस्छन् र कारखाना पुग्न लामो दूरीको यात्रा गर्नुपर्छ।

समाचारका अनुसार महिला कर्मचारीले पनि बसमा घण्टौंसम्म यात्रा गर्दा सुरक्षा समस्या भोग्नुपरेको छ। यो परियोजना अन्तर्गत फक्सकनका कर्मचारीले ३५ हजार घरको सुविधा पाउने बताइएको छ। हाल फक्सकनमा ४१ हजार कामदार छन्। जसमध्ये ७५ प्रतिशत महिला छन्।

यसबाहेक टाटाले आफ्नो कारखानाका कर्मचारीहरूका लागि साढे ११ हजार युनिट तयार गर्दैछ, जहाँ उनीहरूलाई बस्ने ठाउँ दिइनेछ।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...