टेल्जी लायन इलेक्ट्रिक स्कुटरमा एक लाख किलोमिटर वारेन्टी

Technology Khabar २६ चैत्र २०८०, सोमबार

काठमाडौं ।

योम मा ईमोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटरमा एक लाख किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ। विगत पाँच वर्षदेखि नेपालमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको कम्पनीले टेल्जी लायन स्कुटरमा एक लाख किलोमिटर वारेन्टी दिने भएको हो।

योम मा ईमोटर्सले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो।

कम्पनीका निर्देशक संजिव शिल्पकारले भने, ‘नेपालमा नै पहिलो पटक दुई पांग्रेमा एक लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेका छौं। हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परीक्षण गरेर हामीले एक लाख किलोमिटर वारेन्टी दिनने भएका हौं। अब हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन्।’

पाँच वर्ष वा एक लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेन्टी लागु हुने कम्पनीले जनाएको छ। यस्तो वारेन्टीले छोटो समयमा ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

सामान्यतया एक स्कुटरका आयु नै एक लाख किलोमिटर हुने बताउँदै शिल्पकारले भने, ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगाराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरी सर्भिसको काम गर्दै आएका छौं। यसमा पनि हामीले अब एक लाख किलोमिटर वा पाँच वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा ब्याट्रीमा वारेन्टी दिन लागेका हौं। यसले ग्राहकलाई फाइदा पुग्नेछ।’

कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एक्सिलेरेसन, ब्राइटर (म्याट्रिक्स एलसीडी) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत अत्याधुनिक फिचर छ।

टेल्जी लायन स्कुटरमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक छ। यसले फुल चार्जमा एक सय ६० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो स्कुटरलाई घरमै ३ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर लगायत फिचर्स दिइएको छ। यसका साथै की लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेप्ट आलर्म, ५ स्टेप एड्जस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस (२६ लिटर) लगायतका सुविधा उपलब्ध छ।

टेल्जी लायनको आधिकारिक मूल्य तीन लाख ३३ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा १८ हजार रुपैयाँ नगद छुटमा स्कुटर उपलब्ध गराउँदै आइरहेको पनि कार्यक्रममा शिल्पकारले जानकारी दिए। साथै नयाँ वर्षको अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकले हेलमेट, एक वर्षको पूर्ण बीमा, टुल बक्स, ब्याग लगायत अतिरिक्त सामान कम्पनीको तर्फबाट प्राप्त गर्नेछन्।

प्रकाशित: २६ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया