फागुनमा डिजिटल वालेट मार्फत २४ अर्बको भुक्तानी

Technology Khabar २६ चैत्र २०८०, सोमबार

काठमाडौं ।

नेपालमा डिजिटल वालेट मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० फागुनको मासिक भुक्तानी प्रणाली सूचक अनुसार डिजिटल वालेट मार्फत २४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भएको छ।

गत वर्ष २०७९ को फागुनमा वालेट मार्फत १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ वालेट मार्फत भुक्तानी भएको थियो। एक वर्षको अवधिमा वालेट मार्फत हुने भुक्तानी ५ अर्ब ८६ करोड ४० लाख रुपैयाँ अर्थात ३२.२९ प्रतिशतले बढेको छ।

फागुनमा वालेट मार्फत २ करोड २४ लाख १० हजार ३२१ पटक कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार डिजिटल वालेट प्रयोगकर्ता २ करोड १६ लाख ३३ हजार ६०१ रहेका छन्। एक वर्ष अघि वालेटका प्रयोगकर्ता १ करोड ६७ लाख ५१ हजार ७१३ थिए। एक वर्षको अवधिमा वालेट प्रयोग गर्नेको संख्या ४८ लाख ८१ हजार ८८८ ले बढेको छ।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: २६ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया