Technology Khabar २५ चैत्र २०८०, आईतवार
काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई गाभ्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ।
बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।
उक्त बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय रामु पौडेल, विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरुको समेत उपस्थिति रहेको थियो।
उक्त अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टा छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो सेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्ने जारी विज्ञप्तीमा बताईएको छ।
दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरिरहेका छन्।
नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ। त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ।
प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा सरकार र राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुने जनाईएको छ।
प्रकाशित: २५ चैत्र २०८०, आईतवार