
काठमाडौं ।
सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताएका छन्।
आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले भने, “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ। डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ।”
उनले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने जनाए। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताए।
उनले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको बताए। उनले भने, “एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ।” उनले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।
त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुने बताए।
विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ ओटै जिल्लामा पुगेको छ। काठमाडौँ उपत्यकाको एउटा स्थानीय तह (बुढानिलकण्ठ नपा) मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ। रासस
प्रकाशित: २४ चैत्र २०८०, शनिबार