
काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले जनाएको छ।
एकाइका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माको टोली बिहीबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो।
मोबाइलमा म्यासेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहीबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताए।
उक्त तीन जना विद्यार्थी रहेको दुई ओटै कक्षाका निरीक्षकलाई समेत हटाइएको छ। एउटा कोठामा एक जना सरस्वती मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोबाइल भेटिएको थियो ।
उक्त दुई कोठाका निरीक्षक हरिप्रसाद भट्टराई र सुमना दाहाललाई तत्काल हटाइएको एकाइ निमित्त प्रमुख विश्वकर्माले बताए।
बिहीबार ऐच्छिक प्रथम (अर्थशास्त्र) को परीक्षा सञ्चालन भइरहँदा खार्मीका विद्यार्थीले फेसबुक म्यासेन्जरमा ‘इकोनोमिक्स ग्रुप’ नामको ग्रुप निर्माण गरिएको भेटिएको छ।
उक्त ग्रुपमा विद्यार्थीले प्रश्न पठाउने र कालिका मावि खार्मीका प्रधानाध्यापक प्रकाश राईले बाहिरबाट उत्तर पठाइदिएको पाइएको विश्वकर्माले बताए।
सरस्वती माविका विद्यार्थीको मोबाइलमा ‘क्लास टेन स्टुटेन्ड’ नामक मेसेन्जर ग्रुपबाट प्रश्नपत्र पठाउने र उत्तर आउने गरेको थियो । उक्त ग्रुपमा कसले उत्तर पठाएको भन्ने खुल्न बाँकी रहेको विश्वकर्माको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार