Technology Khabar २१ चैत्र २०८०, बुधबार

काठमाडौं ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन व्यवसायीलाई प्रविधिको प्रयोग गरेर समय र पैसाको बचत गर्न आग्रह गरेका छन्। चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सव समारोहलाई मंगलबार यहाँ सम्बोधन गर्दै उनले कानुन व्यवसायीले प्रविधिको प्रयोग गरेर मुद्दा दर्ता र बहस गर्नसक्ने बताए।
प्रधानन्यायाधिश श्रेष्ठले भने, “हामीले सर्वोच्च अदालतसँगै उच्च अदालतसमेत अनलाइनबाट बहस गर्नसक्ने बनाएका छौँ । यसको प्रयोग गर्नुस् । समय र आर्थिक बचत गर्न सहज हुनेछ ।” केही समयमा नै अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी काम गर्न लागेको उनले जानकारी दिए।
“मुद्दा दर्ता गर्न हेटौँडा र काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउन लागेका छौँ । तपाईहरुले आफ्नै फर्मबाट काम गर्न सक्नुहुनेछ”, प्रधानन्यायाधिश श्रेष्ठले भने। मुद्दाका पेसी तोक्ने कार्यलाई समेत स्वचालित प्रणालीमा अघि बढाइएको उनले बताए। यसबाट न्यायमा सहज पहुँच पुग्ने उनले विश्वास व्यक्त गरे।
न्यायमा सहज पहुँचका लागि न्यायिक समिति, कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको प्रधानन्यायाधिश श्रेष्ठको भनाइ थियो।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देशमा निरङ्कुशता हुँदा जनताको संरक्षण गर्ने काम न्यायपालिकाले गर्ने गरेको बताए। पछिल्लो समय सामाजिक सञ्जालमा आएका कुराको आधारमा न्यायप्रणाली जान खोजेको आभास भएको अध्यक्ष घिमिरेले बताए। कानुन व्यवसायी सबै मिलेर न्यायिक नेतृत्वलाई बलियो बनाउन आवश्यक रहेको भन्दै घिमिरेले संसद्बाट कानुन पर्याप्तरुपमा पारित हुन नसक्दा काममा केही असहजता आएको बताए। रासस
प्रकाशित: २१ चैत्र २०८०, बुधबार