‘आफ्नो डाटा सुरक्षा गर्न नसक्ने राज्यले नागरिकको डाटा कसरी सुरक्षित गर्छ ?’ सांसद पौडेलको प्रश्न

Technology Khabar २० चैत्र २०८०, मंगलवार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले आफ्नो डाटाको सुरक्षा गर्न नसक्ने राज्यले नागरिकको डाटा कसरी सुरक्षित गर्नसक्ला भन्नेमा आशंका व्यक्ति गरेका छन्।

सांसद पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा सरकारी वेबसाइट तथा सर्भर डाउन भएको र ह्याक भएको उदाहरण प्रस्तुत गर्दै यस्तो आशंका व्यक्त गरेका हुन्।

उनले नेपाल सरकारको वेबसाइट तथा सर्भर डाउन र ह्याक हुने नयाँ विषय नभएको पनि बताए।

‘गत बिहीबार र शुक्रबार हाम्रो प्रतिनिधि सभाको वेबसाइट नै डाउन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन भयो। जसबाट सयौं यात्रु ४ घण्टा लाइनमा बस्नु पर्यो। जसले गर्दा रातीका सबै उडानहरु प्रभावित भए। सोही दिन भन्सार विभागको आसिकुडा सफ्टवेयर डाउन हुँदा भन्सार विभागको काम करिब ५ घण्टा अवरुद्ध भयो,’ बैठकमा उनले भने।

‘आजको मुख्य सम्पत्ति भनेको डाटा हो। राज्यले आफ्नो डाटाको सुरक्षा गर्न सक्दैन भने यसले नागरिकको डाटाको सुरक्षा कसरी गर्न सक्छ ?’ भन्दै उनले सरकारको क्षमता माथि प्रश्न गरे।

यसबाट नेपालको डिजिटल सिस्टम प्रतिको प्रतिबद्धता छैन भन्ने प्रष्टसँग देखिएको उनको दाबी छ। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेईज्जत समेत गराएको उनको भनाइ छ।

प्रकाशित: २० चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया