एमडीएमएस प्रकरणमा निलम्बनमा परेका दूरसञ्चार प्राधिकरणका निर्देशकहरुको जिम्मेबारी अन्य निर्देशकलाई

Technology Khabar १९ चैत्र २०८०, सोमबार

काठमाडौं ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु विरुद्ध २०८० चैत १५ गते बिहिबार मुद्दा दायर गरेसँगै ती पदहरुको जिम्मेबारी अन्य कर्मचारीहरुलाई बिभाजन गरेको छ।

जसअनुसार, दूरसञ्चार प्राधिकरणले हाल कार्यरत निर्देशकहरुको कामको जिम्मेबारी थप गरेको हो।

प्राधिकरण स्रोतकाअनुसार आजै प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले निर्देशक तहका चार कर्मचारीहरुलाई निलम्बनमा परेका कर्मचारीहरुको कार्य जिम्मेबारी थप गरेका हुन्।

स्रोतकाअनुसार उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख तथा निर्देशक अर्जुन घिमिरेलाई प्रशासन महाशाखाको जिम्मेबारी समेत थप गरिएको छ भने नियमन महाशाखाका प्रमुख तथा निर्देशक अम्बर स्थापितलाई स्तरीकरण महाशाखाको थप जिम्मेबारी दिईएको छ।

यस्तै अनुगमन महाशाखाका विजय कुमार रायलाई पूर्वाधार महाशाखाको जिम्मेबारी थपिएको छ।

उनीहरु सबैलाई आजै थप जिम्मेबारीको पत्र दिईएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

यस बाहेक कानुन तथा अनुमतिपत्र महाशाखाको जिम्मेबारीमा रहेका निर्देशक सन्तोष पौडेललाई भने थप कुनै जिम्मेबारी नदिईएको स्रोतले दाबी गर्यो। उनले प्रवक्ताको जिम्मेबारीसमेत सम्हाल्दै आएका छन्।

अख्तियारले गत बिहिबार एमडीएमएस प्रकरणमा पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम प्रसाद खनालसहित सहित १९ जना विरुद्ध एकानब्बे करोड अन्ठानब्बे लाख रुपैयाँको भ्रष्ट्राचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ।

उक्त मुद्दामा प्राधिकरणका तीन जना निर्देशकहरु समेत परेका छन्। जसमा प्रशासन महाशाखाका निर्देशक दिपेश आचार्य, स्तरीकरण महाशाखाका निर्देशक मिन प्रसाद अर्याल र पूर्वाधार महाशाखाका निर्देशक डा. सुरेन्द्र लाल हाडा रहेका छन्। तीनैजना निर्देशकहरु मुद्दा दायर भएसँगै निलम्बनमा छन्।

यस बाहेक प्राधिकरणले केहि दिनमा निलम्बनमा रहेका उप निर्देशक तथा सहायक निर्देशकहरुको कामको जिम्मेबारी समेत अन्य कर्मचारीहरुलाई दिने तयारी रहेको स्रोतले बताएको छ।

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया