लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट सेवा

Technology Khabar ११ चैत्र २०८०, आईतवार

काठमाडौं ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शनिबार शुभारम्भ गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुलाई दृष्टिगत गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधि विकासमा अनलाइनमार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे। उनले भने, “इटिकेटिङले सबै प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्छ। लुम्बिनी विश्वका भौद्धमार्गीको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुलाई इटिकेटिङले आकर्षित गर्ने छ।”

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यासमेत वृद्धि गर्ने विश्वास व्यक्त गरे।

लामाले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए। उनले लुम्बिनी बौद्धमार्गीको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष वुण्डीराज भट्टराई (सिद्धिचरण) से पर्यटक लाइन लागेर टिकट काट्नुपर्ने समस्या अन्त्य गरिएको बताए। लुम्बिनी विकास कोषको बेबसाइट ‘डब्लुडब्लु डट लुम्बिनी डेभ ट्रस्ट डट जीओभी डट एनपी‘ ‘लग इन गरेर इटिकेटमा गएपछि टिकट काट्न सकिन्छ। मुख्यगरी विदेशीले यसको उपयोग गर्ने कोषको विश्वास छ।

इटिकेटमा गएपछि नेसनालिटी, व्यक्तिको सख्या, गाडी बा ट्याक्सी, क्यामरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए। अहिले मायादेबी मन्दिर प्रवेश र तोकिएका अन्य सेबाका शुल्क राखिएको उनले बताए।

पेमेन्ट सहकार्य गरेको माछापुच्छे बैकका निर्फ डिजिटिल अफिसर माधब सुबेदीले घरबाटै सुबिधा लिन सकिने र क्यूआरबाट विदेशी पर्यटकले टिकट काट्न मिल्ने गरी सुबिधा दिइएको बताए। गोरखापत्रबाट

प्रकाशित: ११ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया