Technology Khabar १० चैत्र २०८०, शनिबार
काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सही अर्थमा पत्रकारिता गर्नेलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले असर पुर्याउन नसक्ने धारण राखेका छन्।
एम्नेस्टी इन्टरनेशनल नेपालको आयोजनामा आज यहाँ सम्पन्न ‘तीव्ररूपमा अगाडि बढिरहेको प्रविधिको सन्दर्भमा मानवअधिकारमा आधारित पत्रकारिता’ राष्ट्रिय कार्यशालामा कार्यकारी अध्यक्ष झाले भने, “एआई आफैं फिल्डमा जान सक्दैन, एआईसँग सिर्जनशिलता र भावना पनि हुँदैन । तर पत्रकारसँग यी सबै गुण हुने भएकाले एआईले पत्रकारिता पेशालाई विस्थापित गर्न सक्दैन ।”
नेपालमा मानवअधिकारको विषयलाई मानवअधिकारकर्मी पछि पत्रकारहरूले नै उठाउने गरेका स्मरण गर्दै उनले सामाजिक न्याय पाउनुपर्छ भनेर पत्रकारले नै विषय उठाउने गरेको उल्लेख गरे।
पत्रकारिता नगरी पर्चाकारिता गर्नेहरु धेरै नटिक्ने भन्दै उनले पत्रकारले आफूलाई दक्ष बनाउनुपर्नेमा जोड दिए।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले एआईको सामना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिए। उनले भने, “पत्रकारितामा एआईको प्रयोग बढ्दो छ। हामीमा आलोचनात्मक चेत र स्थलगत रिपोर्टिङको सीप भए पत्रकारितालाई एआईले हानी पुर्याउन सक्दैन।”
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नयाँ प्रविधिले पत्रकारिता पेसामा थपिएको चुनौती र यसले मानवअधिकारका क्षेत्रमा पार्ने प्रभावबारे छलफल गरिएको भन्दै उनले कार्यशालामा सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरे।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा मानवअधिकार, पत्रकारितामा प्रविधि, लैङ्गिक संवेदनशीलता विषयमा प्रशिक्षण दिईएको थियो । रासस
प्रकाशित: १० चैत्र २०८०, शनिबार