Technology Khabar १० चैत्र २०८०, शनिबार
काठमाडौं ।
डिजिटल नेपाल फ्रेमवर्कको लागि विश्व बैंकले दिने भनेको परियोजना रकम फिर्ता लगेको छ।
विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्कका कतिपय विषयहरुमा फरक मत जाहेर गरेको र अहिलेकै रुपमा अगाडि बढ्न नसकिने बताउँदै आएको थियो।
सोहीअनुसार सरकारले परियोजना संसोधनको कार्य नगरेपछि डिजिटल नेपाल फ्रेमवर्कअन्तरगतका लागि डिजिटल नेपाल एक्सिलरेसन (डीएनए) को नाममा दिने भनिएको करिब १४० मिलियन अमेरिकी डलर अर्थात करिब १७ अर्ब रुपैयाँ फिर्ता लगेको स्रोतले दाबी गरेको छ।
बैंकले यसमा कुल १८० मिलियन डलरको प्रोजेक्ट लगानीको प्रतिबद्धता जाहेर गरेको थियो। उक्त लगानी रकमको प्रतिबद्धता विश्व बैंकले सन् २०२२ जुन १६ मा गरेको थियो।
जसअनुसार विश्व बैंकअन्तरगतको इन्टरनेशनल डेभलपमेन्ड एशोसिएसन (आईडीए)ले १४० मिलियन डलर तथा पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) र आईडीएले संयुक्तरुपमा १४० मिलियन डलर लगानी गर्ने योजना रहेको विश्व बैंकको वेबसाइटमा उल्लेख छ।
पछिल्लो सातासम्म अर्थ मन्त्रालयसँग छलफल भईरहेकोमा परियोजनाको बारेमा छलफल खासै अगाडि नबढेको र रकम फिर्ता लगेको हो।
यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आफूहरुलाई रकम फिर्ता गएको बारेमा जानकारी नभएको बताए।
“अर्थ मन्त्रालयसँग छलफलकै क्रममा रहेको र नयाँ रुपमा परियोजना अगाडि बढाउने तयारी भएको जानकारी छ,” मन्त्रालयका प्रवक्ताले टेक्नोलोजीखबरसँग केहि दिनअघि भने, “पुरानै रुपमा अगाडि बढाउन नसकिने र केहि हेरफेर गर्नुपर्ने भन्दै उनीहरुले त्यसलाई समर्थन गरेका छैनन्।”
उनकाअनुसार डिजिटल नेपाल फ्रेमवर्कको कार्य नयाँ ढंगले अगाडि बढिरहेको छ।
यस बाहेक विश्व बैंकले नेपाल दूरसञ्चार प्राधिकरण मार्फत समेत केहि योजना अगाडि बढाउन चाहेकोमा अर्थ मन्त्रालयले त्यसमा असहमति जाहेर गरेको थियो। अर्थले प्राधिकरणसँग आफ्नै रकम पर्याप्त भएको भन्दै रकम दिन नहुने बताएको थियो।
डीएनए प्रोजेक्टको १ सय ४० मिलियन डलरमध्ये ब्रोडब्यान्ड पहुँच विस्तार, डिजिटल अर्थतन्त्रमा व्यक्तिहरूको क्षमता अभिवृद्धि, डिजिटल फाउन्डेसन विकास र प्रोजेक्ट व्यवस्थापन एवं समन्वयनका लागि रकम छुट्याइएको थियो।
*समाचार सम्पादित
प्रकाशित: १० चैत्र २०८०, शनिबार