Technology Khabar ८ चैत्र २०८०, बिहीबार
काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्नको लागि सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले गत आर्थिक वर्षमा मात्र ७६ अर्ब बराबरको सफ्टवेयर निर्यात भएको भन्दै आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब मूल्य बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको बताए। सोहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको उनले बताए।
अर्थमन्त्री पुनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवा आईटीमा काम गरिरहेको पनि दाबी गरे । उनले आईटी क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्ररूपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको उल्लेख गरे ।
“अघिल्लो आवमा सफ्टवेयरलगायत उपकरण नेपालबाट रू ७६ अर्ब बराबरको निर्यात भएको देखिन्छ । एक अध्ययनले पनि आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको सफ्टवेयर निर्यात गर्न सकिने देखाएको छ”, अर्थमन्त्री पुनले भने, “वार्षिक १० हजार जनशक्ति सूचना प्रविधि क्षेत्रमा आइरहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेगरी सूचना प्रविधिको क्षेत्रलाई बजेटले प्राथमिकता दिने छ ।”
उनले युवा विदेश पलायनको डरलाग्दो अवस्था देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोधबिना स्वतन्त्ररूपमा निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको जानकारी गराए।
प्रकाशित: ८ चैत्र २०८०, बिहीबार