‘सेल्फी’ खिच्न गोदावरीको पुल रोजाइमा

Technology Khabar ७ चैत्र २०८०, बुधबार

काठमाडौं ।

कैलालीको चुरे पहाडको फेदमा रहेको गोदावरी नदी माथिको पुरानो पुलमा आइतबार ‘सेल्फी’ खिच्नेको भीड थियो।

साथीहरुसँगै सेल्फी लिँदै गरेका कञ्चनपुरका युवा सन्तोष रानाले भने, “घुम्न आउनेहरुका लागि यो पुल पहिलो रोजाइमा पर्छ, वनभोजका लागि पनि यो ठाउँको वातावरण पनि रमाइलो छ।”

घुम्नकै लागि पुलमा पुगेका कञ्चनपुर कृष्णपुरकै युवा कपिल भट्ट वरिपरि चुरे पहाड, नदीको सतहदेखि ३०/४० मिटरको उचाइमा रहेको पुलको दृष्य निकै रमाइलो लागेको बताए। उनले भने, “घुम्न आउनेहरुका लागि यो पुल पछिल्ला वर्षमा आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ।”

पुलमा सेल्फी लिने र वरिपरिको प्राकृतिक वातावरणको दृष्यावलोकन गर्नेको दैनिक भीड लाग्ने गर्दछ। अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुइँचो हुने गरेको स्थानीयले बताएका छन् । सडक सञ्जालका दृष्टिमा सुदूरपश्चिम प्रदेशका सात ओटा पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको गोदावरी प्रदेशको मुख्य तीर्थस्थल पनि हो।

काठ, फलाम र स्टिल प्रयोग गरी झण्डै छ दशकअघि बनेको यो पुल जीर्ण भएपछि एक दशकअघिदेखि पुलमा सवारीसाधान आवागमन बन्द गरिएको थियो । धनगढी–डडेलधुरा राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को सडकखण्डमा पर्ने यो पुल जीर्ण भएपछि विकल्पमा सोही ठाउँमा पक्की पुल निर्माण गरिएको छ।

पुरानो पुलबाट यातायात आवागमन बन्द गरिएपछि यसलाई रङरोगन र ध्वजापताकाले सिँगारिएको मात्र नभई ठाउँठाउँमा राष्ट्रिय झण्डा पनि फहराएर आकर्षक बनाइएको छ। घुम्ने पर्यटकको सुरक्षाका लागि पुलको दुवैतर्फको भागमा जाली लगाइएको छ । पुलको अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक पनि आउने गरेको स्थानीयवासीको भनाइ छ।

यो क्षेत्रमा रहेको ५१ फिट अग्लो हनुमानको मूर्ति विशेष आकर्षक मानिन्छ। गोदावरीलाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण स्थल पनि तोकिएको छ । तर राजधानी निर्माणका लागि हालसम्म ठोस कुनै काम भने अघि बढ्न सकेको छैन । रासस

प्रकाशित: ७ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया