
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारले बदलिँदो समय र परिवेशलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी रहेको खाँचो औँल्याएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको कर्मचारी सेवा प्रवेश अभिमुखीकरणको आज समापनका अवसरमा उनले आधुनिक सूचना प्रविधिको तीव्र विकासले सञ्चारमाध्यमलाई पनि रुपान्तरण गरेको छ भने।
उनले भने, “राससको समाचार सेवालाई पनि आधुनिक सूचना प्रविधिमैत्री बनाउन जरुरी छ, मिडियामा पनि प्रविधि र काम गर्ने तौरतरिका परिवर्तन भएको छ। प्रविधि मात्रै नभएर अहिले सबै क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रभाव छ। यो ‘मेनुअल’ काम गर्नेलाई चुनौती हो, अब, मेनुअल काम गर्नेले टेक्नोलोजीसँगै नहिँडे सुख छैन, त्यसैले तपाईंहरुले पनि आफूलाई सोही अनुरुप रुपान्तरण गर्नुपर्छ।”
सचिव सुवेदीले समाचार अत्यन्तै संवेदनशील विषय भएकाले आम पाठक एवं सरोकारवालाको सर्वोपरि हितलाई ध्यानमा राखेर सचेत भई सत्यतथ्य, वस्तुनिष्ठ र सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिए।
“सूचना प्रवाह गर्दा ध्यान पुर्याइएन भने देश, समाज र जनतालाई हानि गर्छ । त्यसैले अत्यन्त संवेदनशील हुनुपर्छ । झुटा समाचारबाट बच्नुपर्छ । प्रतिस्पर्धाको अहिलेको समयमा समाचार प्रमाणीकरण गरी संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ”, उनले भने।
सचिव सुवेदीले ज्ञान र सीपलाई मनोवृत्तिसँग परिणत गरेर सकारात्मक रुपमा पेसागत उच्च व्यावसायिकता र संस्थागत सुदृढीकरणमा समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। उनले सीमित स्रोत, साधन र विविध चुनौतीबीच पनि राससले पछिल्लो चरणमा राम्रा र नतिजामुखी काम गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा राससले गर्ने कामप्रति समन्वय र सहजीकरणका लागि मन्त्रालय सकारात्मक रहेको बताए।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सञ्चारजगत्मा अनेकौं चुनौतीसँगै प्रशस्त सम्भावना पनि रहेको जनाउँदै आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै राससको सेवालाई सोही अनुरुप समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गरे । उनले भने, “पछिल्लो दिनमा राससको महत्व र सान्दर्भिकता दिनानुदिन बढ्दै गइरहेको छ, राससको सेवालाई पनि सोही अनुरुप थप प्रभावकारी बनाउन विभिन्न प्रयास गरिएको छ ।”
प्रकाशित: ७ चैत्र २०८०, बुधबार