हिमाल चढ्नेले अनिवार्य बोक्नुपर्ने चिप र चिप डिटेक्टरका लागि आरोहण एजेन्सीमा भरपर्दै सरकार

Technology Khabar ७ चैत्र २०८०, बुधबार

काठमाडौं ।

हिमाल आरोहण गर्न जाने प्रत्येक आरोहीले विद्युतीय चिप्स बोक्नु पर्ने भएको छ। खोजतलास तथा उद्धारमा मद्दत पुग्ने भएकाले पर्यटन विभागले हिमाल आरोहण गर्दा चिप्स अनिवार्य गरेको हो। सबै आरोहीहरुका लागि चिप अनिवार्य गरिए पनि सरकारले यसको लागि पर्वतारोहण गराउने एजेन्सीसँगनै भरपर्ने बताएको छ।

यस वसन्त याममा हिमाल आरोहण गर्ने प्रत्येक आरोहीले अनिवार्य रुपमा चिप्स प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले टेक्नोलोजीखबरलाई जानकारी दिए।

‘सानो विद्युतीय चिप्स ज्याकेटमा लगाएर हिमाल आरोहण गर्न जाने हो। चिपले आरोहणको सम्पूर्ण गतिविधि ट्याक गर्दैन। आरोहणका क्रममा पर्वतारोहीहरु हराए भने उनीहरु कहाँ छन् भनेर खोज्न सहज हुने भएकाले चिप प्रयोग गर्ने व्यवस्था गरिएको हो,’ निर्देशक गुरुङले भने।

हिमाल आरोहण गर्दा पर्वतारोहीहरुको ज्याकेटमा सानो इलेक्ट्रोनिक्स चिप ज्याकेटमा अड्काएर राखिनेछ। चिपमा ब्याट्री सकिन्छ भन्ने चिन्ता हुँदैन। चिप टुटफुट नभए हिउँले पुरेपनि हराएको मानिसको स्थान पत्ता लगाउन सकिने उनको दाबी छ।

चिप लगाएका व्यक्ति हिमाल आरोहणका क्रममा हराएमा डिटेक्टरको मद्दतबाट उनीहरुको सहि स्थान पत्ता लगाइन्छ।

डिटेक्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वेस क्याम्प, हराएका व्यक्ति खोज्न उडान भर्ने हेलिकप्टरको क्षेत्रमा डिटेक्टर राख्ने गरी छलफल भइरहेको उनले जानकारी दिए। उद्धार टोलीले आफ्नो पायक पर्ने स्थानमा रहेको डिटेक्टर मार्फत खोजतलाज गर्नेछन्।

हिमाल आरोहण गर्नेहरु हराएको खण्डमा खोज तथा उद्धार प्रयोजनका लागि चिप्स उपयुक्त हुने विभागको ठम्याई छ।

हिमाल आरोहण गर्नेका लागि चिप सरकारले उपलब्ध गराउने छैन। उक्त चिप हिमाल आरोहण गराउने एजेन्सीले नै उपलबध गराउने छन्। एजेन्सीले पर्वतारोहीलाई अधिकतम १० अमेरिकी डलर भित्रमा चिप्स उपलब्ध गराउनु पर्नेछ। उक्त चिप अन्तर्राष्ट्रिय गुणस्तरको हुनुपर्ने बताइएको छ।

सरकारले आफैँले खरिद गर्दा लामो प्रक्रिया लाग्न भएकाले विभागले एजेन्सी मार्फत नै चिप्स उपलब्ध गराउने व्यवस्था गर्न खोजेको उनले जानकारी दिए।

भविष्यमा सरकारले नै डिटेक्टर उपलब्ध गराउन सक्ने सम्भावना रहेको छ। तर तत्काल भने सरकारले डिटेक्टर खरिद गर्नेछैन। हालका लागि भने एजेन्सीहरुसँग उपलब्ध रहेको डिटेक्टर प्रयोग गर्ने योजनामा विभाग रहेको छ। यस सम्बन्धमा एजेन्सीसँग विभागले छलफल गरेको पनि उनले जानकारी दिए। एजेन्सीहरु पनि यसमा सकारात्मक भएको बताईएको छ।

वसन्त यामका लागि विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिसकेको छ। हाल विभागले आमा दब्लम र हिम्लुङ हिमाल आरोहणका लागि अनुमति प्रदान गरिसकेको छ। अबको एक हप्ता भित्रमा सगरमाथा आरोहणको पनि अनुमति खुल्ला हुने उनले जानकारी दिए।

हिमाल आरोहण गर्नेहरुले चिप्स प्रयोग गरेको वा नगरेको विषयमा जानकारी लिन विभागले सम्पर्क अधिकृत खटाउने छ। ती सम्पर्क अधिकृतहरुले हिमाल आरोहण गर्नेहरुले चिप्स प्रयोग गरेको वा नगरेको सम्बन्धमा अनुगमन गर्नेछन्। चिप्स प्रयोग गर्दा धेरै खर्च नलाग्ने तथा उद्धारमा सहयोग मिल्ने भएकाले यस सम्बन्धमा पर्वतारोही एजेन्सीहरु पनि सहमत भएको उनले बताए।

प्रकाशित: ७ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया