नागरिक एपमार्फत सबै प्रकारको सेवा उपलब्ध गराउने सरकारको घोषणा

Technology Khabar ६ चैत्र २०८०, मंगलवार

काठमाडौं ।

सरकारले नागरिक एपमार्फत सरकारी सेवा उपलब्ध गराउने ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मार्फत घोषणा गरेको छ।

फरक/फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत सबै प्रकारको सेवा उपलब्ध गराउने योजना लिएको छ। यसका साथै सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागुगर्ने घोषणा गरेको छ। यस्तै राष्ट्रिय परिचय पत्रलाई प्रचलनमा ल्याउनेसमेत लेखिएको छ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक
इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने घोषणा गरेका छन्।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा तर्फ सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्ने तथा डिजिटल माध्यम (इ–लर्निङ्ग) को प्रयोग गरी शिक्षालाई आधुनिकिकरण गर्ने योजना लिईएको छ।

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरी सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागूगर्ने योजना सरकारले लिएको छ भने र स्वचालित डिजिटल एकीकृत एकद्वार सेवा प्रणाली प्रयोगमा ल्याउने बताएको छ।

सरकारले सूचना प्रविधि तर्फ इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने योजना लिएको छ भने डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने घोषणा गरेको छ।

यसैगरी सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको
प्रयोग बढाउने, डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबर सुरक्षा सुनिश्चित गर्ने लगायतका विषय समेत सरकारले समेटेको छ।

भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत यसको सही सदुपयोग गर्न भूमिको डिजिटल नापी पूरा गर्ने लगायतका विषय समेत घोषणामा समेटिएको छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया