Technology Khabar ३ चैत्र २०८०, शनिबार
काठमाडौं ।
भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ। देशका प्रमुख १० नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणा अनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो।
अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि भौतिक उपस्थित भइरहनु नपर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिए। उनका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बीजक, उत्पत्तिको प्रमाणपत्र वा जिएसपी (जेनरलाइज सिस्टम अफ प्रिफरेन्सेन) फर्म र भुक्तानीको कागजलाई अपलोड गर्नुपर्ने हुन्छ।
जिएसपी सुविधा भएका इयु, नर्वे, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, न्यूजिल्यान्ड टर्कीबाहेक भारतमा निर्यात गर्दा भुक्तानी प्रमाणित कागजात आवश्यक पर्दैन।
जिएसपी सुविधा अन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महसुल छुटको सुविधा दिएको हुन्छ। नेपालबाट निर्यात हुने उनको गलैंचा र गार्मेन्टलगायतका मालवस्तुमा सुबिधा छ। नेपाल र भारतका व्यवसायीबीच उधारो कारोबार हुने भएकाले भुक्तानीको कागजात अपलोड गर्न बाध्य नबनाइएको हो। गोरखापत्रबाट
प्रकाशित: ३ चैत्र २०८०, शनिबार